६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

‘‘इश्वर पोखरेललाई लखेट्छु भनेर सोचेका छन भने नारायणकाजी आफैँ लखेटिन्छन’’

६ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय विभागको नेतृत्व चयनको विषय पेचिलो बनिरहेको समयमा प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रवृतिको चर्को आलोचना सुरू भएको छ । कतिसम्म भने नेकपाकै भ्रातृ संस्था प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतले नारायणकाजीलाई सार्वजनिक रूपमै चेतावनी दिएका छन । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई स्कुल विभागको नेतृत्वमा कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै गुटबन्दी सुरू गरेका श्रेष्ठलाई बस्नतले पोखरेललाई लखेट्ने डिजाइन बनाएको हो भने आफैँ लखेटिने चेतावनी दिएका छन ।

उनले केहीबेर अघि सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो कडा चेतवानी दिएका हुन । उनले नारायणकाजीलाई केपी शर्मा ओलीलाई  तर्साएर भाग हड्प्छु भन्ने भ्रम नपाल्न समेत अनुरोध गरेका छन । बस्नेतले लेखेका छन  ‘‘कमरेड नारायणकाजीलाई मेरो सुझाव, कमरेड केपी ओलीलाई तर्साएर भाग हडप्छु भन्ने भ्रम नपाल्नोस, केपीले यो फाइनल भनेपछि जतिसुकै रिसाए पनि कमरेड माधव, झलनाथ अनि बामदेव ठीक हो भन्दै पक्ष लिनुहुन्छ, यो तथ्य हो । बाँकी आफै बुझ्नोस । बाबुराम भट्टराईलाई लखेटे जस्तो इश्वर पोखरेललाई लखेटछु भन्ने तपाईको डिजाइन हो भने बुझ्नोस, तपाई आफै लखेटिनु हुनेछ ।’’

नेकपाको एकताको विपक्षमा रहँदै आएका श्रेष्ठ सरकारबिरोधी शक्तिसँग गठबन्धनमा रहने गरेका छन । उनले गोविन्द केसीको अनशनका समयमा त्यो चरित्रको भयंकर प्रदर्शन गरेका थिए । आखिरीमा गोविन्द केसीको अनशन नै कांग्रेसको जात्रा जस्तो भएर पतन भएपछि श्रेष्ठ ट्वाँ परेका थिए । केसीको अनसन प्रकरणमा श्रेष्ठले दोहोरो भूमिका खेलेको भन्दै नेकपाका शीर्ष नेताहरूले नै त्यतिखेर चर्को असन्तुष्ट पोखेका थिए ।

उनै नारायणकाजी अहिले केन्द्रीय स्कुल विभागको नाममा इश्वर पोखरेलको नामै लिएर जिम्मेवारी दिन नहुने भन्दै लबिङमा लागेपछि पत्रकार बस्नेतले सार्वजनिक टिप्पणी गरेको बुझ्न सकिन्छ । सधैँजसो नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डको सम्पर्कमा रहने मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेँल र प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतको भनाइलाइ कतिपयले बालुवाटारकै संकेतको रूपमा समेत व्यख्या गर्ने गरेका छन । यस्तै नेकपका अोली निकटका एक जना युवा नेता तीर्थराज भट्टराइले पनि यही विषमाय टिप्पणी गरेका छन ।

प्रकाशित मिति : July 22, 2019 at 9:30 pm