६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

जापान रोजगारीमा जानेका लागि अक्टोबर २७ र २८ मा भाषा र सीप परीक्षा हुने

६ साउन, काठमाडौँ । जापान रोजगारका लागि यही अक्टोबर २७ र २८ मा भाषा परीक्षा हुने भएको छ । पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । त्यसपछि सीप परीक्षा हुनेछ । सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ ।

 

भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् । सीप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् । परीक्षाको मिति तोकिएपनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा केयर गिभरका लागि कति जनशक्ति लैजाने जस्ता विषयमा टुङ्गो लाग्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । नेपालले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो चरणमा केयर गिभरको लागि जनशक्ति लैजान लागेको हो ।

सम्झौतामा विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भनिएको थियो । जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लैजाने बताएको थियो । गत डिसेम्बरमा जापानको मन्त्रिपरिषदले विदेशी कामदारलाई जापान भित्र्याउँने नीति पारित गरेपछि नेपाली कामदारलाई पनि जापान जाने बाटो खुलेको हो ।

जापानले नर्सिङ, सरसफाइ, उत्पादन मुलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा विदेशी कामदार लिन खोजेको हो ।

प्रकाशित मिति : July 22, 2019 at 12:49 pm