२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

स्वरोजगार हुन सकिने भएपछि सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण

४ साउन, काठमाडाैँ । नेपालगञ्जस्थित व्यावसायिक तथा सीप विकास तालीम केन्द्रले प्रदान गर्ने सीपमूलक तालीमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ । केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालीममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा–टाढाबाट समेत युवाहरु आउने गरेको केन्द्रका प्रमुख जेन्टिल गौतमले बताउनुभयो । उहाँले तालीम केन्द्रले तालीममार्फत वर्षेनी सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिँदै तालीममा सहभागीमध्ये ७० प्रतिशत रोजगार वा आफैँ स्वरोजगारमूलक व्यवसाय गर्न सफल हुने गरेको दाबी गर्नुभयो ।

केन्द्रले तालीममा सहभागीलाई रोजगार वा स्वरोजगकारमूलक व्यवसायको लागि आवश्यक सहयोग र समन्वय गर्दै आएको छ । अछामबाट नेपालगञ्ज आएर तीनमहिने कटाइसिलाइ तालीम लिनुभएकी लक्ष्मी कुँवरले तालीम सिकेर आफ्नै खुट्टामा उभिने आँट आएको र अब गाउँ फर्किएर आफ्नै पसल खोल्ने तयारी गरेको बताउनुभयो । छ महिने कम्प्युटर तालीम सिक्नुभएका नेपालगञ्जका चक्र ढुङ्गानाले व्यावसायिक तथा सीप विकास तालीम केन्द्र नेपालगञ्जबाट छ महीनासम्म सिकेको सीपले रोजगारी पाउन सफल भएको बताउनुभयो ।

केन्द्रका प्रमुख गौतमका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६१८ जनालाई सीपमूलक तालीम प्रदान गरिएको छ । २७ जनालाई छ महिने कम्प्युटर तालीम दिइएको छ । यसैगरी तीन महिने केश श्रृङ्गार तालीम ६० जनालाई, कटाइसिलाइ तालीम ४८ जनालाई प्रदान गरिएको छ ।आव २०७५/७६ मा केन्द्रले विद्युत् जडानको तालीम ५६ जनालाई, इलेक्ट्रोनिक्सको तालीम दुई जनालाई र वेल्डिङको तालीम २० जनालाई प्रदान गरेको छ । यसैगरी तीन महिने हाउस वाइरिङ तह एकको तालीम ५० जनालाई, हाउस होल्ड प्लम्बिङ तह दुईको तालीम २३ जनालाई, कुक तह एकको तालीम २५ जनालाई, मोटरसाइकल मर्मत तालीम २५ जनालाई, होजियारी तालीम ५० जनालाई, फेशन डिजाइनि«ङ तह एक तालीम ५० जनालाई, मेसन तह एक तालीम २५ जनालाई तालीम दिइएको छ । रासस

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार ११:४२