६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

ललितपुर महानगरको बजेट ५ अर्ब ३१ करोड

१ साउन, ललितपुर । ललितपुर महानगरपालिकाको चाैथो नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ । गत असार १० गते महानगरपालिकाले यस आवका लागि रु पाँच अर्ब १७ करोड १६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको थियो ।

सोमबार कार्यपालिका बैठक बसी ६६ नगर तथा २६ कार्यपालिका सदस्यद्वारा १० बुँदा संशोधन माग विषयक छलफलमा सहमति भएपछि रु १४ करोड २७ लाख २५ हजार थपी नीति तथा कार्यक्रम पास गरिएको हो । महानगरपालिकाको मङ्गलबार सम्पन्न नगरसभाले आगामी आवको बजेटमा पूर्वाधार, मूर्त तथा अमूर्त सम्पदा र हरियाली संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले पूर्वाधार निर्माणसँगै हरियाली प्रवद्धनलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । “विकास सूचाङ्कका आधारमा हामीले वडालाई तीन किसिममा वर्गिकरण गरी बजेट छुट्याएका छौँ”, उहाँले भन्नुभयो, “पहिलो किसिममा परेका वडालाई रु एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।” यस किसिमका वडामा वडा नं १, ६, ७, ८, १०, ११ र १९ पर्दछन् ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले दोस्रो किसिममा परेका वडालाई रु दुई करोड बजेट छुट्टाइएको बताउनुभयो । दोस्रो किसिममा वडामा वडा नं २, ३, ४, ५, ९, १३, १४, १५ र १७ रहेका छन् । तेस्रो किसिममा परेका वडालाई दुई करोड ७५ लाख बजेट विनियोजन गरियो । तेस्रो किसिमका वडामा वडा नं १२, १६, १८, २०,२१, २२, २३, २४, २५, २६, २७,२८ र २९ पर्छन् । सबै वडामा विकास समानगतिमा नभएकाले वर्गिकरण गरी विकास खर्चको आवश्यकताअनुसार बजेट छुट्याइएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : July 17, 2019 at 7:29 pm