माओवादीका सात नेता र एक बालकको हत्या गर्ने मोस्ट वाण्टेड ‘बादशाह’ काठमाडाैँबाट पक्राउ
२१ असार, काठमाडाैँ । माओवादीका सात नेताको हत्या गर्ने मोस्ट वाण्टेड ‘बादशाह’ भनी चिनिने नसिम खानलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘बादशाह’ शनिबार बिहान पक्राउ परेका हुन । पक्राउ परेका खानमाथि तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग लागेको छ ।
बादशाहमाथि पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका-४ का वडा अध्यक्ष फतेह मोहम्मदको ५ वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरीबाट जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाण्डौबाट पक्राउ गरेका उनी मायादेवी गाउँपालिका-४ पिपरा गाउँका स्थायी बासिन्दा हुन ।
पक्राउ परेका खान प्रहरीबाट बच्नका लागि कपिलवस्तुको सीमावर्ती भारतीय बजार अलीगढवामा आफ्नै निजी घर बनाई बस्दै आएका थिए । सीमावर्ती भारतीय बजार अलीगढवाबाटै कपिलवस्तु जिल्ला भर खानले आफ्नो प्रभाव जमाउँदै आएका थिए । फरार सूचीमा रहेका खानमाथि सात वटा कर्तव्य ज्यान र एउटा डाँका मुद्दा दर्ता रहेको छ ।
प्रकाशित मिति : 14:34









