भो लेख्दिन बा तिम्रा कथा (कविता)
–दुर्गा पौडेल
भो लेख्दिन बा तिम्रा कथा
ती सारै निर्मम र निरस छन् ।
मेरो बाल्यकाल देखि आजसम्म
मेरो मानस्पटलको पुस्तकालयमा
मैले अति राम्रोसँग छाँट्काँट गरेर
हरेक कुनामा खोज्दा पनि ।
तिम्रो कुनै रसिलो कथा मिलेन बा।
खै के लेखुँ तिम्रो त्यो
घेरो च्यात्तिएको टोपिको बारे ।
जस्ले मलाई मान्छे बनाउन
भनेर तिम्ले बोकेका
नाम्लाको डाम लुकाउन सक्दैन ।
यहाँ सुकिलो टाउकोमा
सुकिलो टोपी मात्रै पढ्नेहरू छन् ।
भो बा म लेख्दिन तिम्रो कारुणिक कथा ।
जाबो एउटा टोपाजको
पत्ती किन्न नसकेर
बरका लहरा जस्तै बढेका
तिम्रा दारी कपाल को कथा ?
अहँ ,येहाँ नागबेली कपाल पढ्नेहरू छन् ।
हुन्न बा त्यो सारै नमिठो हुन्छ ।
मेरो बाटो सपार्न मेरा लागी हिड्दा
कठ्याङृयेर फुटेका ती खुट्टामा
ठेस लाग्दा बगेको त्यो
आलो रगतको कथा ?
हुन्न बा येहाँ तेस्ता रगतको कथा बन्दैनन।
त्यो क्रान्ति हैन बा ।
म लेख्दिन।
नियति र जिम्मेवारीले थिच्दा थिच्दा
धनुष झैं नुगेको तिम्रो कम्मर को कथा
हुन्न बा येहाँ सोढसीका कम्मर पढिन्छन ।
तिम्रा कम्मर का कथा बेथा हुन्छन् बा।
भो म लेख्दिन।
दस नङ्रा फहराउदा फुटेका
हातगोडाको कथा ,
कुर्कुच्चो फाटेको बेरङि चप्पल ,
टाँक नभएको सुरुवाल अनि
डोको जस्तै गरि प्वाल परेको
त्यो अस्कोटको कथा ?
हुन्न बा ती सारै निर्दयी छन्
तिनले मेरो मुटुमा मा प्वाल पार्छन्।
अनि तातो रगत पानी भएर
आँखा तिर उक्लिन्छ ।
भो लेख्दिन बा तिम्रा कथा …. ।
जैमिनी न. पा. ५ बाग्लुडं
हाल क्यानडा ।
प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १०:१०