२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

सूचना र परामर्शपछि विदेशिने युवाको संख्यामा कमी

– नवीनबाबु अधिकारी
३० चैत, सिन्धुली । सिन्धुलीमा वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यले युवालाई आवश्यक सूचना तथा परामर्श दिएपछि विदेश पलायन हुनेको संख्यामा कमी आएको हो ।

सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सिन्धुलीले वैदेशिक रोजगारका लागि जाने युवालाई निःशुल्क सीप तालीम तथा कानूनी सेवा प्रदान गर्दै आएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका संयोजक उमा पौडेलले बताइन् ।

सिन्धुलीबाट वैदेशिक रोजगारीमा जाने युवामध्ये सबैभन्दा बढी ४५ मलेशिया, २२ साउदी अरेबिया, १९ कतार, १० युएई, दुई कुवेत र अन्य मुलकमा दुई प्रतिशत युवा विदेश पलाएन भएको पनि सामीको तथ्याङ्कले देखाउँछ । सामीले युवालाई आवश्यक परामर्श र सूचना प्रदान गर्दा अघिल्ला आर्थिक वर्षको तुलनामा सिन्धुली जिल्लाबाट विदेश पलायन हुने युवाको संख्यामा कमी आएको उनको भनाइ छ ।
सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमै पुगेर परियोजनाले सूचना तथा परामर्श प्रदान गरेको उनी बताउँछन् ।
अहिलेसम्म परियोजनाबाट २४ हजार ६०३ जना युवाले वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने र चाहिने आवश्यक कागजातलगायत अन्य आवश्यक ज्ञानका बारेमा जानकारी पाएको उनकोे भनाइ छ । सिन्धुली जिल्लाबाट रोजगारीका लागि विदेश जान चाहने युवाको आप्रवासनलाई सुरक्षित तथा उपलब्धिमूलक बनाउन सहयोग गर्नु परियोजनाको मुख्य उद्देश्य भएको जिल्ला समन्वय समिति सिन्धुलीका वरिष्ठ सामाजिक विकास अधिकृत तथा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका फोकल पर्सन सागरकुमार ढकालले बताए ।

परियोजनाबाट सूचना तथा परामर्श पाएपछि युवाले वैदेशिक रोजगारीका लागि तिरेको रकमको भर्पाइ लिने, जीवन बीमा गराउने, अभिमुखीकरणमा भाग लिने, श्रम स्वीकृति लिएर जाने, कागजात पढेर मात्र हस्ताक्षर गर्ने लगायतका कार्य गर्दै आएको उनले बताए ।

वैदेशिक रोजगारीमा जान चाहने युवामा १५ प्रतिशत निरक्षर युवा हुने गरेको छ । धेरै संख्यामा युवा वैदेशिक रोजगारीका लागि जानेमा सिन्धुली १३औँ स्थानमा पर्ने उनको भनाइ छ । सिन्धुलीमा परियोजना लागू भएदेखि अहिलेसम्म सूचना केन्द्रमा आएकामध्ये ७०५ जनालाई फोनमार्फत फलोअप गरिएको, फलोअप गरिएकामध्ये १८९ जना विदेश गएको र यसमध्ये १२५ जनाले घरमा कागजपत्रको प्रतिलिपि छाडेका भेटिएको थियो । सीप तालीम लिएर जाने ३६ जना थिए ।

यस सूचना तथा परामर्श केन्द्रले काम र फरक तलब परेमा, स्वास्थ्य परीक्षणमा असफल भएमा, म्यानपावरले राहदानी र पैसा लिएर राखेमा, रोजगारीका क्रममा ज्यान गुमाउने युवाको शव झिकाउन परेमा, सम्पर्क्विहीनको खोजी गर्न परेमा, नेपाल फर्कन चाहनेलाई फर्काउन परेमा, रोजगारीमा गएका युवाले विदेशमा काम नपाएमा, स्वास्थ्यमा समस्या आएमा, उद्धार गर्नुपरेमा निःशुल्क कानूनी सहायता प्रदान गर्दैआएको छ ।
उमेर नै नपुगेका नाबालकसमेत नागरिकता बनाउन आउने गरेको खतिवडाले बताए । १४ वर्ष पुग्ने बित्तिकै युवा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा आउने र सम्बन्धित वडाले पनि सिफारिश दिने गरेको बताए । आफूहरुले उमेर पुगेको छैन भन्दा अभिभावकबाट छोरा जन्माउने म उमेर तपाईंलाई थाहा हुन्छ कि मलाई भन्ने जवाफ आउने गरेको छ ।
अहिलेसम्म १०३ जना वैदेशिक रोजगारीका क्रममा सिन्धुलीका नागरिकको ज्यान गएको तथ्याङ्क छ ।
आगामी आर्थिक वर्षदेखि परियोजना स्थानीय तहले सञ्चालन गर्नुपर्ने भएकाले थप व्यवस्थित बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति सिन्धुलीका समन्वय अधिकारी ज्ञानेन्द्र पराजुलीको धारणा छ । रासस

प्रकाशित मिति : April 13, 2018 at 8:28 am