१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण

२६ जेठ, काठमाडाैँ । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकपछि सो सम्झौता नवीकरण भएको हो ।

यस अघि सन् २००४ पहिलो पटक नेपाल भारतबीच सो समझौता भएको थियो । अब पाँच वर्षका लागि सो सम्झौता नवीकरण भएको हो । उक्त बैठक जेठ २३ र २४ गते बसको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बैठकमा नेपालमा निर्माण भइरहेको रेल कार्गो सेवाको पहुँच भारतको बिसाखापटनम, कोलकाता र हल्दियासम्म कायम गर्न नेपाली प्रतिनिधिमण्डलले भारतीय पक्षसँग प्रस्ताव गरेकोे छ । ‘नेपालको उक्त प्रस्तावमा भारतीय पक्ष सैद्धान्तिक रुपमा सहमत भइसकेको छ, ’सचिव अधिकारीको जानकारी दिनुभयो ।

भारतीय ऐन कानुनको अध्ययन गरी आगामी छ महिनापछि दुई देशका अधिकारीबीच काठमाडौँमा हुने बैठकमा थप छलफल हुने जनाइएको छ । त्यस्तै भारतबाट आउने ‘बल्क कार्गो’ हाल वीरगञ्ज नाकासम्म आउने गरेकोमा त्यसलाई विराटनगर, भैरहवा लगायतका नाकासम्म पहँच कायम गर्न नेपाली पक्षले आग्रह गरेको छ । त्यसैगरी, बैठकमा नेपालमा सञ्चालन हुन लगेका रेलवे सेवालाई विद्युत्बाट सञ्चालन गर्नका लागि भारतीय सहयोगको अपेक्षा गरिएको छ । त्यसैगरी, बैठकमा जनकपुर–जयनगर रेलसेवाको सञ्चालन, रेलसेवाको सो रुटमा ‘बल्क कार्गो’ सेवा विस्तारलगायतका विषयमा छलफल भएको थियो । जयनगर–जनकपुर रेलमार्ग खण्डमा सञ्चालन गरिने रेल खरिदका लागि यसअघि नै नेपाल र भारतबीच ‘जी टू जी’ प्रणालीअन्तर्गत सम्झौता भइसकेको छ ।

नेपाल र भारतबीच उक्त बैठकमा भएको सहमतिहरुलाई समेटेर नेपालले यसै आर्थिक वर्षभित्रमा नै एउटा मस्यौदा भारतलाई पठाउने जानकारी समेत सचिव अधिकारीले दिनुभयो । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनसम्बन्धी तेस्रो बैठकमा भाग लिन १० सदस्यीय नेपाली वार्ता टोली बुधबार नयाँ दिल्ली गएको थियो । सो टोली शनिबार स्वदेश फर्केको छ । सरकारले नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनसम्बन्धी बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकालको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । भाउचप्रसाद यादवले यो समाचार गोरखापत्रमा लेखेका छन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १०:२९