१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

चेतना अभावमा मृत्युको मुखमा पुग्छन् सुत्केरी

–खेमराज गौतम

२४ जेठ, गलकाेट । पछिल्लो समय गर्भावस्था तथा सुत्ेकरी हुने बेलामा अस्पताल तथा वर्थिङ सेन्टर नपुग्ने कमै हुन्छन् । आम मानिसमा चेतनाको स्तरमा वृद्धि भए पनि यदाकदा चेतनाकै अभावमा सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने गरेको सुन्न पाइन्छ । भौगोलिक विकटताका कारण अस्पतालको पहुँचमा नपुग्नु तथा चेतनाको अभावमा उमेर नपुग्दै विवाहबन्धनमा बाँधिनुले अझै पनि समाजमा छिटपुट रूपमा सुत्केरी तथा शिशुको मृत्यु भएको घटना घट्ने गरेका छन् । मातृ शिशुदर शून्य पार्ने सरकारको लक्ष्यअनुसार गाउँ–गाउँमा वर्थिङ सेन्टर स्थापना भएका छन् भने सुत्केरी हुँदा आमा र शिशुको मृत्यु भएको खबर बिरलै सुन्ने गरेका छौँ ।

चेतनाको अभावमा उमेर नपुग्दै विवाह गर्ने र सुत्केरी हुन अस्पताल नपुग्दा हालै बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ स्थित सुरकुडेकी २३ वर्षीया जिसु बुढासहित उहाँको नवजात शिशुको मृत्यु भएको छ । परम्परागत सोचका साथ घरमै सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएका कारण सुत्ेकरी भएको तीन दिनपछि सुत्केरी बुढाको मृत्यु भयो । यही जेठ २० गते घरमै सुत्केरी भई शिशुलाई जन्म दिएकी बुढाले जन्म भएको केही घण्टामा शिशुको मृत्यु भयो भने अत्यधिक रक्तश्रावका कारण पाल्पाको लुम्बिनी मेडिकल कलेजमा जेठ २२ गते बिहान आमाको मृत्यु भएको परिवारले जनाएको छ ।

भौगोलिक रूपमा विकट भएका कारण स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानमा स्वास्थ्य चेतना नहुँदा यस्ता खाले घटना घट्ने गरेका बडिगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवले बताउनुभयो । “गर्भावस्थामा गाउँको क्लिनिकमा स्वास्थ्य परीक्षण गराए पनि सरकारी स्वास्थ्यचौकीसम्म नपुगेको देखियो”, यादवले भन्नुभयो, “गर्भावस्थामा स्वास्थ्य संस्था नगएको भए पनि सेत्केरी हुने बेला अस्पताल नपुग्दा यस्तो परिणाम आयो ।”

सुरकुडेबाट सुत्केरी भएको झण्डै १२ घण्टामा बडिगाड गाउँपालिकाको केन्द्र खारबजारमा रहेको एक पोलिक्लिनिकमा ल्याइएको थियो । त्यहाँ रगतको मात्रा न्यून पाइएपछि तत्कालै पाल्पाको लुम्बिनी मेडिकल कलेजका लागि सिफारिश गरिएको भए पनि श्रीमतीलाई बचाउन नसकेको श्रीमान रवि बुढाले बताउनुभयो । १७ वर्षको उमेरमा विवाह गरेका जिसुले १९ वर्षमा पहिलो बच्चा पनि घरमै जन्माउनुभएको थियो । मातृशिशु मृत्युदर अत्यन्त न्यून भइरहेको सन्दर्भमा आमा र बच्चाकै ज्यान जाने गरी भएको घटनाप्रति स्वास्थ्यकर्मीले गम्भीर रूपमा लिएका छन् ।

चेतना अभावमा घरमै सुत्केरी हुनु र जटिल स्वास्थ्य समस्या आउँदा तत्कालै अस्पताल पु¥याउन नसक्नुको कारण मृत्यु भएको हुनसक्ने यादवको भनाइ छ । “पहिलोपटक छोरा जन्मिँदा राम्रै भयो, सुत्केरी हुँदा अस्पताल लैजानुपर्ने ख्यालै भएन”, मृतककी सासु लालमाया बुढाले भन्नुभयो, “शिशुको मृत्यु भयो, रक्तश्राव रोकिएन बल्ल अस्पतालको खोजी भयो ।”

समयमै अस्पताल नपु¥याउँदा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएको बुढाले सुनाउनुभयो । कम उमेरमा विवाह गरी बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्थामा समस्या आउने धवलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन डा सागर राजभण्डारीले बताउनुभयो । राजभण्डारीका अनुसार अस्पतालमै सुत्केरी भएको खण्डमा आमा र शिशु दुवैको ज्यान सुरक्षित हुने सम्भावना रहन्छ ।रासस

प्रकाशित मिति : June 7, 2019 at 11:11 am