१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

घरधुरी कर लिन अब स्वयंसेविकाहरू घर–घरमै

२० जेठ, भद्रपुर । अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट शुरु गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताउनुभयो ।

उहाँका अनुसार गत वर्षदेखि नै घरधुरी कर लिने नौ प्रकारको मापदण्ड बनाएर नगरपालिकाले जनताकै घरमा पुगेर कर उठाउन थालेको हो । उहाँले फुसको साधारण घरको रु २०, टिनको छानो सेन्ट्रल बेरा गरिएको एक तलाको रु ६०, टिनको छानो एक तला पक्कीको रु ८०, पहिलो तला ढलाई गरिएको र दोस्रोमा टिनको छानो लगाएकोमा रु १५०, पक्की घर एकतलाको रु.१५०, दुई तलेको रु २२०, तीन तलेको रु ३००, चार तले भएमा रु ४५० र चार तलाभन्दा माथि भएमा रु ६०० का दरले घरधुरी कर उठाउने गरिएको बताउनुभयो ।

उहाँले अन्य नगरपालिकाले एकीकृत सम्पत्ति कर र सम्पत्ति कर लगाए पनि अर्जुनधारा नगरपालिकाले भने मालपोत र घरधुरी कर मात्र लगाएको बताउनुभयो । मालपोत भने जनताले आआफ्नै वडामा तिर्ने गरेका छन् । स्वयंसेविका गाउँका कुना कुनासम्म पुगिरहेका र सबैसँग परिचित हुने हुँदा उनीहरुलाई दैनिक रु एक हजार भक्ताको व्यवस्था गरेर काममा लगाइएको सूचना अधिकृत आचार्यले बताउनुभयो ।

विसं २०६८ को जनगणनाअनुसार ६० हजार २०४ जनसङ्ख्याअर्थात् हाल ७० हजार बढी जनसङ्ख्या र १३ हजार १३६ घरधुरी रहेको छ । वडा नम्बर ६ मा खटिएकी तुलसा कुँवरले दैनिक ४५ घर परिवारकोमा पुगेर अनिवार्य घरधुरी कर उठाउन नगरले नियम बनाएको बताउनुभयो । उहाँले सोही नियमअनुसार नै घरमूली भेटिने समय पारेर आफूहरुले काम गरिरहेको बताउनुभयो । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार १०:०५