रोजगारीका लागि विदेशिने युवाकालागि खुशीको खबरः अब यूएई पनि शून्य लागतमा जान पाइने
१२ वैशाख, काठमाडाैँ । रोजगारीका लागि विदेशिने युवाकालागि खुशीको खबर छ । अब रोजगारीका लागि यूएई जाँदा पनि नेपाली कामदारले खर्च गर्नुपर्ने छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सुरक्षित र भरपर्दो वैदेशिक रोजगारीको अभियान अन्तर्गत अब यूएई पनि विना शुल्क कामदारले जान पाउने भएका छन । काम अाय भएका विदेश जाने नेपाली युवालाइ विभिन्न बहानामा विभिन्न समूहले गरिरहेको ठगी अन्त्यका लागि मन्त्री विष्टले चालेको महत्वपूर्ण कदमको रूपमा यसलाइ हेरिएको छ । बिहीबार दुबै देशका अधिकारीले श्रम समझदारीको मस्याैदामा सहमति कायम गरेका छन ।
पुरानो श्रम समझदारी विस्थापित गर्दै कामदारको सुरक्षाको प्रत्याभूत हुनेगरी नयाँ श्रम समझदारीमा सहमति जुटेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । विषयमा सहमति भएसँगै समझदारीमा बिहीबार हस्ताक्षर भएको छ । मस्यौदामा नेपालबाट कामदार जाँदा शून्य लागतमा जान पाउने, म्यानपावरको सेवा शुल्क पनि रोजगारदाताले नै व्यहोर्ने, बीमाको व्यवस्थासहित सामाजिक सुरक्षाको पनि ग्यारेण्टी गर्ने लगायतका विषय समेटिएका छन । नयाँ श्रमसझदारी अनुसार काममा रहँदाको बीमा र स्वाथ्य बीमा हुने प्रावधान राखिएको छ । कामदारको लापरवाहीका कारणले हुने दुर्घटना बाहेक अरु दुर्घटना काममा रहँदाको बीमाले समेट्ने छ ।

अब दुबै देशको मन्त्रिपरिषद बैठकले समझदारीको मस्यौदालाई पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय गरेर मन्त्री स्तरमा हस्ताक्षर हुनेछ । श्रम समझदारीमा कामदारलाई आर्थिक भार नपर्ने गरी आधारभूत अधिकारका साथै सुरक्षाको सुनिश्चितता गरिने उल्लेख छ । मन्त्री विष्टले जिम्मेवारी सम्हालेपछि मलेसिया र जापानसँग श्रम सम्झौता भइसकेको छ ।
प्रकाशित मिति : 23:14









