विदेशबाट निराश भएर फर्केका युवा आफ्नै व्यवसाय गरेर मनग्गे आम्दानी गर्दै
–सुरेन्द्र भण्डारी
११ वैशाख, सुरुङ्गा । वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गरेका छन् । उनि मात्र होइन, झापाका थुप्रै युवा विदेशी भूमिमा रगत पसिना बगाउनुको साटो स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनसायले कृषि पेशामा संलग्न हुन थालेका हुन् ।
हुन त केही समय अघिसम्म शिक्षित युवाले कृषि कर्म गर्नुहुन्न भन्ने गलत मानसिकता थियो । विदेशमा पाएको दुःखले उनीहरुलाई स्वर्ग जस्तो धर्ती चिनायो । अहिले उनीहरुले गाउँमै विभिन्न व्यवसाय गरेर मनग्गे आम्दानी गर्न सकेका छन् ।

झापा बाह्रदशी गाउँपालिका–५ का थापा विदेशबाट फर्किएर अहिले पशुपालन व्यवसायमा लागेका छन् । यही भूमिमा सुन फलाउन सकिन्छ भन्ने अठोट लिएर उनले सात वर्षअघि गाई पाल्न शुरु गरे । १० वटा गाईबाट शुरु गरेको उनकाे व्यवसाय अहिले फष्टाएको छ । पशुपति एग्रो फर्म दर्ता नै गरेर थापाले गाईपालन व्यवसाय शुरु गरेपछि अहिले उनकाे गोठमा १०० वटा गाई पुगेका छन् । दूघ बिक्रीबाट मासिक रु दुई लाखसम्म कमाई गर्ने गरेको थापाको भनाइ छ ।
थापाको गाई फर्मबाट अहिले दिनहुँ झण्डै एक हजार लिटर दूध बिक्री हुने गर्दछ । प्रति लिटर रु ५० का दरले दूध बिक्री गर्ने थापाले प्रत्यक्ष रुपमा ११ जनालाई रोजगारीसमेत दिलाएका छन् ।
तत्कालीन पशु सेवा कार्यालय झापाका प्रमुख कुमारसिंह खत्री र गोरखाको च्याङलीमा गाईपालन गरिरहेका राजेन्द्र पन्थी प्रेरणाको स्रोत बताउने थापाले भारतको बिहार र पञ्जाबबाट होलिष्टेन र जर्सी जातका गाई ल्याएर पालेका छन् । आम्दानी बढेसँगै उनकाे दैनिकी फेरिएको छ । दिनहुँजसो बाह्रदशी गाउँपालिकालगायत जिल्लाका अन्य भेगबाट पनि किसान उनकाे गाई फर्मको अवलोकनका लागि आउने गरेका छन् । अनि कतिले उनकाे सिको गर्दै पशुपालन व्यवसाय शुरु गरेका पनि छन् । उनले २०४९ देखि २०७० सम्म कतारमा काम गरे ।
दिनेश थापाजस्तै झापाको बिर्तामोड नगरपालिका–१० का विशाल राई पनि कृषि कर्म गरेर लाखौँ रुपैयाँ कमाई गर्ने जिल्लाकै सफल उद्यमीका रुपमा चिनिएका छन् । ब्रिटिस लाहुरे बन्ने सपना बोकेर पटक पटक प्रयास गर्दा पनि असफल भएपछि विदेश पुगेका उनले विदेशमा पनि भविश्य सुनिश्चित नदेखेपछि भौंतारिएको मनलाई सम्हाल्दै कृषि पेशालाई अङ्गाले ।

सानो माछा खाडीबाट माछापालन व्यवसाय शुरु गरेका उनले विसं २०७१ बाट विशाल एग्रो फर्म दर्ता गर्दै आधुनिक तवरबाट माछापालनलाई व्यावसायिक रुप दिए । यही व्यवसायबाट अहिले वार्षिक रु ५० लाखसम्म आम्दानी लिने गरेको उनकाे भनाइ छ । पङगास र टिलपिया जातका माछापालन गर्दै आएका राईको फर्ममा अहिले ६ जनाले प्रत्यक्ष रोजगारसमेत पाएका छन् ।
व्यवस्थित र नयाँ प्रविधिको प्रयोग गर्दै माछापालन गर्ने राईले माछाको बिक्रीसँगै एउटै याममा १२ लाखसम्म भुरा उत्पादन गरेर बिक्री गर्छन् । यस वर्ष मात्रै ५० लाख भुरा उत्पादन गर्ने तयारी गरिरहेको उनले बताए ।
३ बिघा क्षेत्रफलमा नौ वटा पोखरीबाट उनले वार्षिक ५० टनसम्म माछा उत्पादन गर्ने गरेका छन् । माछापालन व्यवसायबाट वर्षमा रु ५० लाखभन्दा बढी खुद आम्दानी लिने गरेको उनले बताए। गाउँमै बसेर विदेशको भन्दा निकै बढी कमाइ गर्न सकिने उनि बताउँछन् । उनि गाउँका युवालाई रोजगारीका लागि विदेशमा जानुभन्दा गाउँमै बसेर कुनै न कुनै व्यवसाय गर्न सल्लाह दिन्छन् ।
प्रकाशित मिति : 17:36









