साकेला गाउँपालिका–३ का वडाध्यक्ष मणिकुमार राईको निधन
१० वैशाख, खाेटाङ । निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको निधनभएको छ । गत चैतदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा निधन भएको हो । शुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन् ।
गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल ल्याउने क्रममा सौर्य भन्ने ठाउँमा ल्याइपुर्याउँदा राईको मृत्यु भएको आफन्तले बताएका छन् । राईकाे बाटैमा निधन भएपछि आफन्तले गएराति नै घर फर्काएका र अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर अहिले घरमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झकार’ले बताए ।

श्रद्धाञ्जलिका लागि जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला नेता कार्यकर्ता स्वर्गीय वडाध्यक्ष राईको घर पुगेका छन्। श्रद्धाञ्जलिसभापछि आजै राईको दाहसंस्कार गरिने आफन्तले बताएका छन् ।
तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी राई उक्त पार्टीका जिल्ला सदस्यसमेत थिए । पार्टीकाे युवा तथा विकासप्रेमी नेता गुमेकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
प्रकाशित मिति : 15:17







