सरकारी जग्गा संरक्षणमा कुनै सम्झाैता हुँदैन, किनबेचमा संलग्नलाई कारबाही हुन्छः मन्त्री बाँस्कोटा
५ वैशाख, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा किनबेच नभएको प्रष्ट पार्दै किनवेच भएको पाइएमा जतिसुकै ठुला पद वा हैसियतले छानबिन प्रभावित नहुने बताएका छन । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता बाँस्कोटाले सरकारी जग्गा सरकारको नाममा ल्याएरै छाडने घोषणा गरे । ‘ललिता निवासको जग्गा विवादमा जोसुकै मुछिएको होस, कारबाही हुन्छ, सरकारको नाममा जग्गा आउँछ,’ पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने ‘कुनै पद, ओहोदा वा हैसियतले छानबिन प्रक्रिया र सरकारी सम्पत्तिको रक्षा गर्ने कुरालाई प्रभावित गर्न सक्दैन ।’

मन्त्री बाँस्कोटाले जग्गा विवाद प्रधानमन्त्री निवास नभई सँगै जोडिएको ललिता निवासको भएकोसमेत प्रष्ट पारे । उक्त जग्गा रोक्का भइसकेको जानकारी गराउँदै मन्त्री बाँस्कोटाले सरकारी सम्पत्तिको संरक्षणमा कुनै सम्झाैता नहुने प्रष्ट पारे । उनले सरकारले सरकारी सम्पत्ति संरक्षणकै लागि ललिता निवासको जग्गा रोक्का गरी सरकारको नाममा ल्याउने निर्णय गरेको समेत स्पष्ट पारे । ३३ किलो सुनका विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बास्कोटाले ३८ क्विन्टल सुनकै ‘नेक्सस’ ध्वस्त पार्ने अभियानमा सरकार रहेको जानकारी दिए । ‘३३ किलो सुन कतिपल्ट भन्ने ? एउटा भारत पुगेर समातिएको छ, ३८ क्विन्टल सुन नै बेपत्ता भएको रहेछ । ती सबैका ‘नेक्सस’लाई ध्वस्त पर्ने अभियानमा सरकार छ,’ मन्त्री बाँस्कोटाले भने ।
प्रकाशित मिति : April 18, 2019 at 8:35 pm










