१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

विप्लवको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बिस्फोट र सवारीसाधनमा आगजनी

५ वैशाख, काठमाडौँ । विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव त्यस्तो नदेखिए पनि जनजीवन अातंकित बनेको छ । ठाउँठाउँमा बिस्फोटका घटना भएका छन भने धेरै स्थानमा शंकास्पद बस्तु भेटिएका छन । बिहीबार बिहानैदेखि देशका विभिन्न भागमा बम तथा शंकास्पद वस्तु फेला परेका छन् । बम भेटिएको स्थानमा जनजीवन त्रसित बनेको छ । पाल्पामा गाउँपालिकाको भवनमै क्षति पुग्नेगरी बिस्फोट गराइएको छ । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको हो । प्रहरीका अनुसार, विस्फोटबाट भवनमा क्षति पुगेको छ ।

काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । यस्तै रुपन्देहीको कोटिहवा-बाउन्नकोटी सडकमा पनि शंकास्पद वस्तु फेला परेको छ । बम आशंका गरिएको उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताएका छन । यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ । कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद बस्तु भेटिएको छ । कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा शंकास्पद बस्तु भेटिएको हो । बम भेटिएको सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ । बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् ।

प्रकाशित मिति : 08:46