१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

जैविक मार्गले फेरिएको दैनिकी

–राजेन्द्र विष्ट

४ वैशाख, महेन्द्रनगर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का दलबहादुर ओली बाटो नभएर बीचमा फस्नुभयो । बाटो नहुँदा उहाँले सस्तैमा जग्गा बेच्ने तयारी गरिरहनुभएको थियो । यही बीचमा नगरपालिकाले चुरे फेदीमा जैविक मार्ग निर्माणको काम शुरु ग¥यो । उहाँको जग्गा पनि त्यही मार्गसँग जोडियो । उक्त मार्ग बन्न थालेपछि उहाँले जमीन बेच्नेभन्दा पनि नयाँ घर बनाउन थाल्नुभएको छ ।

“यति राम्रो ठाउँ छाडेर कहाँ जानु, घर आँगनमै यति चौडा बाटो पुगेको छ,” उहाँले भन्नुभयो, “नजीकै वन पनि छ, चुरेको चिसो पानीले सिँचाइदेखि खानेपानीको पनि सुविधा छ ।” उहाँले अब यही मार्गकै छेउमा सानोतिनो पसल थापेर व्यापार–व्यवसाय गर्ने योजना पनि बनाउनु भएको छ । नगरपालिकाले आफ्नै स्रोत र साधनबाट छोटो समयमा निर्माण गरेको मार्गले नगर क्षेत्रका बासिन्दाको दैनिकी नै फेरिदिएको छ ।

“उत्तरी पहाड छेउका हामीलाई त सपना जस्तै भएको छ”, वडा नं ९ का शङ्कर नाथले भन्नुभयो, “साइकल पनि राम्रोसँग चलाउन नसकिने सडकमा अब ठूला गाडी पनि गुड्ने भए ।” नगरपालिकाभित्रै भए पनि वर्षौंदेखि उत्तरीछेउका बासिन्दालाई सताएको पछ्यौटेपनलाई सडक निर्माणले समृद्व बनाएको छ । “यस्ता आश्वासन धेरैले बाँडेका थिए, शुरुमा त विश्वास नै लागेको थिएन”, उहाँले भन्नुभयो, “काम शुरु भएको केही महीनाभित्रै आफ्नै खेतछेउबाट विकासको नमूना देख्न पाइएको छ ।”

दुई दशकसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन भएपछि विकासले गति लिन सकेको थिएन । अझ पहँुच नभएका सर्वसाधारणका लागि त आफ्नो क्षेत्रमा विकास निर्माण कार्य दिवास्वप्न जस्तै भएको थियो । नगरपालिकाको उत्तरी भेगमा रहेको साकेतधाम विष्णु मन्दिर नजीकको वैजनाथ मावि तिलकपुरका विद्यार्थी पनि खेतका आली र डिलबाट हिँडेर स्कूल आउजाउ गर्थे । टाढाटाढाका विद्यार्थी पनि बाटो नहँदा हिँडेरै आउँथे । “धार्मिक, पर्यटकीय मार्ग बनेपछि विद्यार्थी विद्युतीय रिक्सा र साइकल चढेर स्कूल आउन थालेका तिलकपुरको वैजनाथ माविका प्रधानाध्यापक मदन विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मार्गले घाडीघाँच क्षेत्रको चौतर्फी विकास गरेको छ ।”.

उहाँका अनुसार दुई वर्षअघि सम्म उक्त क्षेत्रमा जमीनको मूल्य प्रतिकट्ठा रु ५० हजार पनि मिल्दैनथ्यो । जैविक मार्ग बनेपछि अहिले प्रतिकट्ठा रु १० लाख नाघेको छ । वडा नं १ मा रहेको रौटेलादेखि वडा नं ९ ब्रह्मदेव आधा घण्टामै पुग्न सकिने भएको छ । “मार्ग बनेपछि बाढी नियन्त्रणसँगै वन अतिक्रमण हुने क्रम पनि रोकिएको छ”, प्रअ विष्टले भन्नुभयो ।

नगरपालिकामा जनप्रतिनिधि आएलगत्तै उक्त क्षेत्रमा धार्मिक पर्यटकीय विकासका लागि मार्ग निर्माणको काम शुरु गरिएको हो । नगरप्रमुख सुरेन्द्र विष्टले यातायातसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, पर्यटकीय मार्गको योजना अघि सारेर कार्य थालनी गरिएको बताउनुभयो । नगरपालिकाको रौटेलादेखि बह्मदेवसम्म धार्मिक मार्गको ट्र्याक खोलेर ग्राभेलिङको काम सम्पन्न गरिएको छ ।

त्यस्तै वडा नं १३ देखि १९ सम्म शुक्लाफाँटा आरक्ष हँुदै निर्माण हुने पर्यटन मार्गको पनि ट्र्याक खेल्ने काम जारी रहेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थललाई जोड्ने र नगर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सहज बनाउन सो स्थलको विकास गर्ने लक्ष्यअनुरुप धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको हो । चार लेनको पक्की सडक बनाउने लक्ष्य राखेर निर्माण गरिएको सो मार्ग कैलालीको धार्मिकस्थल गोदवारीसम्म जोड्ने योजना सुदूरपश्चिम प्रदेश सरकारको छ ।

नगरपालिकामा निर्माण हुने नगर चक्रपथसँग जोड्ने गरी जैविक, धार्मिक तथा पर्यटकीय मार्ग निर्माण कार्य शुरु गरिएको नगरप्रमुख विष्टले बताउनुभयो । नगरपालिकाले सबै वडालाई छुने गरी नगर क्षेत्रमा नगर चक्रपथ बनाउने योजना बनाएको छ । “उत्तरमा धार्मिक मार्ग र दक्षिणमा पर्यटन मार्गलाई जोडेर चक्रपथ निर्माणको योजना अघि सारेका छौँ”, उहाँले भन्नुभयो, “यस क्षेत्रको पर्यटन विकाससँगै ग्रामीण बस्तीलाई सडक सञ्जालले जोडनेछ ।”

धार्मिक पर्यटकीय मार्गले ब्रह्मदेवको सिद्धनाथ मन्दिर, तिलाचौरको भम्केनी धाम, तिलकपुरको साकेतधाम र बाराकुण्डाको रौटेला मन्दिरका साथै खल्ला मच्छेटीमा रहेको प्राचीन सिद्धबाबा, ऐतिहासिक ५२ कोठे दरबार, झिलमिला ताल लगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई एकापसमा जोड्दै सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन उल्लेख्य मद्दत पुग्ने नगरप्रमुख विष्टले बताउनुभयो । धार्मिक पर्यटकीय मार्गले ब्रह्मदेवको कालिका मन्दिरस्थित प्रस्तावित महाकाली लोकमार्गलाई जोड्ने र मन्दिर नजीक बसपार्क प्रस्ताव गरिएको छ ।

नगरपालिकाले निकुञ्ज र दोधारा चाँदनी झोलुङ्गे पुलको पर्यटन प्रवद्र्धनका लागि महाकाली नदी किनारमा पार्कसहितका पूर्वाधार बनाउन गुरुयोजना निर्माण गरी काम अघि बढाएको छ । पर्यटकलाई झोलुङ्गे भएर शुक्लाफाँटाको हात्तीसार, वडा नं १४ र १६ को रानाथारू घरबासबाट बागफाँटा हुँदै जैविक मार्ग पुगाएर उत्तरी क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रमा पुगाउने लक्ष्य नगरपालिकाको छ ।

प्रकाशित मिति : 21:27