१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन

२ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को आज त्यहाँ आयोजत एक समारोहबीच उद्घाटन गर्नुभयो । सियान नगर सरकार (सियान म्युनिसिपल गभन्र्मेन्ट्) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरूका बारेमा अनुसन्धान गर्दछ र नेपाललगायत दक्षिण एसियाली मुलुकहरूमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास तथा लगानी प्रवद्र्धनका बारेमा अनुसन्धान गर्दछ ।

उक्त विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा.राजीवकुमार झा सो केन्द्रको निर्देशक हुनुहुन्छ । उहाँले दिनुभएको जानकारीअनुसार उक्त अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरूका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरूका बारेमा चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्छ ।

उद्घाटन कार्यक्रममा चीनको साङ्सी प्रान्तीय कम्युनिष्ट पार्टीका नेताहरू, सो विश्वविद्यालयका पदाधिकारीहरू र उक्त केन्द्रको दक्षिण एसियाली देशका निर्देशकहरूको सहभागिता रहेको प्राडा झाले जानकारी दिनुभयो । सो अवसरमा महासचिव पौडेलले नेपाल र चीनबीच प्राचीन कालदेखिकै सम्बन्ध रही आएको स्मरण गर्नुभयो । उहाँले दुई देश एक अर्काेबाट लाभान्वित हुदै आएको प्रसङ्ग उल्लेख गर्दै नेपालको विकास प्रयासमा चीनको सहयोग र सद्भावको सराहना गर्नुभयो ।

चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल पनि एक चीन नीतिको पक्षमा रहेको महासचिव पौडेलले बताउनुभयो । नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति चिनियाँ जनता र चीन सरकारलाई उहाँले विशेष धन्यवाद ज्ञापन गर्नुभयो । हाल चीनमा रहनुभएका महासचिव पौडेल मङ्गलबार बिहान बेइजिङ पुग्ने र त्यहाँ उहाँको राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ ।

अध्ययन केन्द्रका निर्देशक प्रा.डा.झाले चीन र दक्षिण एसियाली मुलुकहरू तथा विशेषगरी नेपाल र चीनबीचको सम्बन्धलाई अझ नजिक ल्याई थप प्रगाढ बनाउने काममा सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नेपाल र चीन सम्बन्धका हिसाबले धेरै नजिक छौँ तर पनि कुन क्षेत्रमा के कसरी लगानीका सम्भावनाहरूलाई अघि बढाउने भन्ने बारेमा अझै स्पष्ट हुन नसकेकोमा यस केन्द्रले आगामी दिनमा दुई देश एक अर्काबाट कसरी लाभान्वित हुन सक्छन् भन्ने बारेमा अनुसन्धान गर्नेछ ।”

प्राध्यापक झा करिब २२ वर्षदेखि चीनमा हुनुहुन्छ । सियान विश्वविद्यालयमा प्राध्यापनरत प्राडा झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ । उहाँलाई चीनको सियान सरकारले सन् २०१८ का लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार पनि प्रदान गरेको थियो । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा उक्त पुरस्कारका साथ ‘सियान एक्सिलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रदान गर्ने गर्दछ ।

प्रकाशित मिति : April 15, 2019 at 11:58 pm