१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

प्रहरीकाे अतिवादविरुद्ध पत्रकार संगठनहरु एकजुट, गिरीकाे रिहाइ गर्न माग

२ वेशाख, काठमाडौं । पत्रकारहरुको बिभिन्न संघ संगठनहरुले  पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी पक्राउ गरिएको घटनाको बिरोध गर्दै तत्काल रिहा गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेर गिरीको पक्राउले पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै बिरोध गरेको छ ।

‘पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर छ,’ महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भत्र्सना गर्दछ । साथै, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्र्भीकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।’

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले पनि सम्पादक पक्राउ गरेको बिरोध गरेको छ । प्रेस सेन्टरका महासचिव बिष्णु सापकोटा ‘जुगल’ र प्रेस चौतारी नेपालका महासचिव राजेश राईले विज्ञप्ति जारी गरेर आपत्ती जनाएको हो । जारी विज्ञप्तिमा भनउिको छ, ‘ यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथिको हनन समेत हो ।’

पत्रकार महासंघ कास्कीले पनि आपत्ती जनाएको छ । महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो ।

‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गरेको छ’ अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

गिरी पोखरा रहेर क्राइम न्यूज लेख्ने गर्छन् । यसैगरी खेलकुद पत्रकार मञ्च गण्डकी, आदीबासी जनजाती पत्रकार महासंघ फोनिज, प्रेस संगठन कास्की, लगायतका पत्रकार निकटका संस्थाहरुले पत्रकार गिरीलाई तुरुन्त रिहाइको माग गरेका छन् ।

प्रकाशित मिति : April 15, 2019 at 6:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/