१० असार २०८३, बुधबार | Wed Jun 24 2026

प्रहरीलेे कानुन मान्नु नपर्ने ! ठगीकाे समाचार लेख्दा उल्टै पत्रकार पक्राउ

२ वैशाख, काठमाडौँ । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा प्रहरीले सोमबार पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको छ ।

साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी आएकाले केन्द्रीय अनुसन्धान ब्युराको आग्रहमा गिरीलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए। ‘हामीलाई पक्राउ गरेर पठाइदिनु भनेकाले पठाउन लागेका हौँ,’ उनले भने, ‘आरोप र कसुरको अनुसन्धान केन्द्रले नै गर्छ।’

गिरीले गत शुक्रवार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतास विरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए। जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन्।

पक्राउ गरिएका गिरीलाई कास्की प्रहरीले काठमाडौँ पठाउने तयारी गरेको छ। ‘समाचार लेख्दा साइबर क्राइममा कसरी पक्राउ गर्न मिल्छ?,’ पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले भने, ‘काठमाडौँ लगेपनि आजै छाड्ने प्रक्रिया मिलाउन हामीले महासङ्घको केन्द्र र प्रेस काउन्सिलमा खबर गरेका छौँ।’

(प्रेसविरुद्ध प्रहरीकाे गैरकानुनी क्रियाकलाप र  प्रेस स्वतन्त्रता हननविरुद्ध दबाब दिन कान्तपुर दैनिककाे अनलाइन संस्करणमा प्रकाशित समाचार सभार ।सम्पादक)

प्रकाशित मिति : April 15, 2019 at 3:23 pm