यस बर्षदेखि कोही पनि बालबालिका विद्यालय बाहिर हुँदैनन्: प्रधानमन्त्री ओली
२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्नुभएको छ । आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभएको हो ।
प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई गुन लगाएको बताउनुभयो । “राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु” प्रधानमन्त्री ओलीले भन्नुभयो “अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।”

प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताउनुभयो । “सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि तपाईंहरुलाई बधाइ छ ।”
प्रधानमन्त्री ओलीले यस बर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पार्नुभएको छ । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि उपस्थिती थियो ।
प्रकाशित मिति : April 15, 2019 at 2:45 pm







