८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

सर्वाेच्चकै आदेश आएपनि सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुन्न: मन्त्री अर्याल

२ वैशाख, स्याङ्जा । भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनैपनि हालतमा दर्ता नहुने बताउनुभएको छ। स्याङ्जाको चापाकोटमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आएपनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नसकिने बताउनुभएको हो ।

उहाँले त्यस्तो सपना नदेख्न समेत आग्रह गर्नुभयो । ‘यदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छ’, मन्त्री अर्यालले चेतावनी दिनुभयो । आफ्नो एउटै मात्र उद्देश्य मालपोत र नापी कार्यालयमा हुने गरेका बेथितिको अन्त्य गर्नु रहेको भन्दै उहाले कुनैपनि बहानामा नअलझिने बताउनुभयो । यताउता केही गरेर प्रभावमा पार्ने सोचेको भए त्यो ठुलो भुल हुने मन्त्री अर्यालको भनाइ थियो । जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउदै मन्त्रालयले मालपोत र नापी कार्यालयमा रहेका श्रेस्तालाई कप्युटर प्रणालीमा सुरक्षित राख्न कार्यालयमा रहेका पुराना कागजपत्रलाई स्क्यानिङ गर्ने काम भइरहेको बताउनुभयो ।

मालपोत र नापी कार्यालको काम कारबाहीलाई सुधार गर्ने उद्देश्यका साथ अनलाइन प्रणालीको सुरुवात गरेको बताउदै उहाँले आफुले चाहेजती काम अझै नभएपनि धेरै सुधार भएको बताउनुभयो । सबैभन्दा बढी भ्रष्टाचार शौचालयमा हुने गरेको मन्त्री अर्यालको भनाइ थियो । मालपोत र नापी कार्यालयको बेथिती रोक्नको लागि कार्यालयलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो । ‘अब बन्ने कार्यालय सबै एकै ठाउँमा राखिने र एक ठाउँबाट अर्को ठाउँको काम देखिने खालको भयो भने जनतालाई दुख पनि हुदैन र कोठै पिच्छे हुने ढिला सुस्ती र आनाकानीको पनि अन्त्य हुन्छ’, मन्त्री अर्यालले भने ।

मन्त्रालयले सहकारीको भित्रभित्रै अनुगमन गरेको र आगामी पाँच वर्ष भित्रमा सहकारीको संख्यालाई पचास प्रतिशतमा झार्ने उहाँले बताउनुभयो । सहकारी जुन उद्देश्यले खोलिएको हो सोही अनुसार काम गर्नुपर्ने भन्दै उहाँले खालि बचत र ऋण दिने कामले मात्रै नपुग्ने बताउनुभयो । अब सहकारीहरु उत्पादनसंगै जनताको सुख दुःखसंग सहकारी जोडिनुपर्ने भन्दै मन्त्री अर्यालले चापाकोटसंगै सिंगो जिल्लाको विकासका लागि आफु सधै लाग्ने बताउनुभयो । स्थानीय स्तरमा पनि विकासका काममा साझा सहमती गरेर काम गर्नुपर्ने भन्दै मन्त्री अर्यालले विकासमा राजनीति नगर्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : 14:01