८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

नयाँ वर्षसँगै प्रश्न गर्ने तरिका परिवर्तन गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले दिए ११ नमुना प्रश्न

१ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षसँगै प्रश्न गर्ने तरिका परिवर्तन गर्न आग्रह गरेका छन । आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटरबाट देशबासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले फेरि पनि निराशाको कुरा हुन सक्ने भन्दै अब प्रश्न गर्ने तरिका नै परिवर्तन गर्नुपर्ने बताए । उनले ११ वटा नमुना प्रश्न समेत प्रस्तुत गर्दै भने ‘कसैले निराशा पोख्न सक्छ– ‘यो एक बर्षमा के नै भयो र ?’ जिज्ञासु सबैलाई आग्रह गर्छु, आउनुस् हामी प्रश्न गर्ने तरिका नै फेरौं । सरकारलाई यसरी प्रश्न गरौं–यो वर्ष के के भए ?’

यी हुन प्रधानमन्त्रीले दिएका नमुना प्रश्न 

१. यो वर्ष विधि निर्माणको वर्ष हो भनिएको थियो, कति कानुन बने ? कति संशोधन भए ?

२. कति किलोमिटर बाटो कालोपत्रे भयो ? कतिवटा पक्की पुल निर्माण गरियो ?

३. तुइन विस्थापन गरी पुल बनाउँदा के फाइदा भयो ?

४. पूर्व–पश्चिम रेलमार्गको डीपीआर त तयार भएछ, लिग बिछ्याउने काम चाँहि कहिलेबाट शुरु हुन्छ ?

५. पानीजहाज कार्यालय खुलेछ, सतह–जल यातायात कहिले र कहाँबाट चल्छ ?

६. पहिले नचलेका कतिवटा विमानस्थल अहिले सञ्चलनमा आए? नेपाल भ्रमण वर्ष मनाईंदैछ, नेपालसँग अहिले आफ्नै हवाइजहाज कतिवटा छन् ?

७. नयाँ युगको शुरुवातको रुपमा थालिएको सामाजिक सुरक्षा कार्यक्रमले नागरिकको जीवनमा कस्तो प्रभाव पा¥यो ? आजैबाट शुरु हुने जेष्ठ–नागरिक स्वास्थ्य बीमा कार्यक्रमले हाम्रा आमा–बाबाहरुलाई के लाभ दिन्छ ?

८. ‘खोलौं बैंक खाता’ कार्यक्रम के हो ? यसले कसरी फाइदा पु¥याउँछ ?

९. काम र रोजगारीको अभियान कहाँ पुग्यो ? प्रधानमन्त्री रोजगार कार्यक्रमले जनतालाई कसरी लाभ दिने भयो ?

१०. ‘नेपालको पानी, जनताको लगानी’बाट देशलाई र स्वयं शेयर किन्ने व्यक्तिलाई के कति लाभ हुन्छ ?

११. छिमेकी मित्रराष्ट्रका साथै संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भएको हाम्रो सहभागिताले मुलुकले के के लाभ पाएको छ ?

प्रधानमन्त्रीले गत चुनावमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदान गरेकाे भन्दै सरकारले गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चिएको बताए । उनले अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रा तीब्र गतिका साथ अघि बढाउँने बताए ।

प्रकाशित मिति : 10:51