८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मुलुक समृद्ध बनाउन बलियो जग हाल्दै सरकारः सञ्चारमन्त्री बाँस्कोटा

३० चैत, लाहान । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताउनुभएको छ । “मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको छ, जग बलियो भएपछि माथि जस्ता हाल्ने काम हुँदै गर्छ”, शुक्रवार साँझ लहानमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको काम तीव्ररूपमा सरकारले अघि बढाएकाले अबको पाँच वर्षभित्र मुलुकमा ठूलो आर्थिक रुपान्तरण हुन्छ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सङ्घीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको बताउँदै मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्काेतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन, त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन् ।”

“त्यस्ता आलोचनाप्रति सरकारले ध्यान दिएको छैन्, सरकारको ध्यान केबल अहिले विकास र समृद्धिमा केन्द्रीत रहेको छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार र आफ्नो पार्टीले सामाजिक रुपान्तरण र समृद्धिको योजना अघि सारेर त्यसै अनुरुप कामकारवाही अगाडि बढाएको छ ।”

उहाँले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गराएर अघि बढ्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै वैज्ञानिक, पारदर्शी र वस्तुनिष्ट तरिकाबाट नागरिकता वितरण गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कृषि र पर्यटनको विकासले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सरकारी नारा सार्थक हुने भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउँदै उहाँले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने गरी सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 10:52