सरकारी जग्गा व्यक्तिको नाममा गर्न नेकपाकै नेता माधव नेपालको सरकारले बाटो खोलेको खुलासा
२९ चैत, काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा गर्न नेकपाकै नेता माधवकुमार नेपालको सरकारले बाटो खोलेको खुलासा भएको छ । अनलाइनखबर डटकमले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रकरणमा पूर्वप्रधामन्त्री माधवकुमार नेपालले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।
समाचार अनुसार बालुवाटारको जग्गा मालपोतका कर्मचारी भूमाफियासँग मिलेर ११२ रोपनी ४ आना राणा परिवारका सदस्यहरुको नाममा पास गरे । ३५ रोपनी जग्गा दर्ता गर्ने प्रक्रियामा हुँदा अख्तियारले २० जेठ २०६४ सालमा सरकारको नाममा दर्ता गर्नु भनेर निर्णय गर्यो । तर माधव नेपालको सरकारले अख्तियारको निर्णय समेतको वेवास्ता गर्दै सरकारी जग्गा व्यक्तिको नाममा गर्ने बाटो खुला गरिदियो ।

अनलाइनखबरको समाचार अनुसार माधवकुमार नेपाल सरकारको पालामा बाटो, राजकुलो र सरकारी जग्गामा पनि मालपोत कार्यालयले मोही कायम गरेर आधा दिने निर्णय भएको छ । तत्कालीन भूमिसुधार सचिव छविराज पन्तले उठाएको टिप्पणीमा नै ‘प्रधानमन्त्रीज्यूको कार्यकक्षमा भएको पटकपटकको छलफल र प्रमले दिएको निर्देशन बमोजिम’ भनेर लेखिएको पाइएको छ ।
बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपछि नेकपाका महासचिव विष्णु पौडेलले जग्गा किनेको दाबी गरेका छन । उनले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने काममा आफ्नो भूमिका नरहेको स्पष्टीकरण दिएका छन् । तर, यसमा पौडेल मात्र होइन, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नै मुछिन पुगेका छन ।
प्रकाशित मिति : 22:36









