१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

बैदेशिक रोजगार विभागको जिम्मेवारी डा भुषाललाई, मन्त्रीविष्टको रोजाइमा परे इन्टिग्रिटी आइडल

२८ चैत, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले इन्टिग्रिटी आइडल २०१६ का विजेता डा भिष्म भुषाललाई बैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन । श्रम मन्त्रालयसँग सम्बन्धित नीति र कानुनहरूमा व्यापक सुधार गरेका मन्त्री विष्टले विभागको महानिर्देशकमा इन्टिग्रिटी आइडल भुषाललाई पठाएका हुन । भ्रष्टाचार र ठगीविरूद्ध शून्य सहनशीलताको नीति अंगिकार गरेका मन्त्री विष्टको यो निर्णयको चाैतर्फी प्रशंशा भएको छ । डा भुषालले विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि सेवाप्रवाहमा अझै सुधार अाउने अपेक्षा गरिएको छ ।

यसअघिका महानिर्देशक दिलिप चापागाईंले उमेर हदका कारण अवकास पाउनु अघि विदामा बसेपछि भुषाललाई नयाँ महानिर्देशकका रुपमा विभाग पठाइएको हो । भुषालले विभागको जिम्मेवारी पाएपछि सामाजिक सञ्जाल मार्फत करिव ४३ लाख नेपाली दाजुभाई दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको भन्दै सहयोगको आग्रह गरेका छन् ।

सहसचिव भुषालले अाफ्नो फेसबुकमा यस्तो लेखेका छन ।

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी प्रदान गर्नुभएकोमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा. गोकर्ण विष्टज्यू तथा सचिव श्री महेश दाहाल सर प्रति हार्दिक आभार प्रकट गर्दछु।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
विदेशमा रहनु भएका करिब ४३ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको छ। वैदेशिक रोजगारीको क्रममा ठगिएका तथा दुख पाएका दाजुभाइ दिदीबहिनीहरुको दुखमा मलहमपट्टी लगाउन म र मेरो टीमले कुनै कसर बाँकी राख्ने छैन। यद्यपि सीमित जनशक्ति तथा स्रोतसाधनले बाँधिएको हुँदा यहाँहरुले अपेक्षा गरेजस्तो चमत्कारै गर्न सकिने अवस्था चाहीं छैन तथापि हाम्रो सम्पूर्ण मन वचन र कर्म यहाँहरुको सेवामा लाग्नेछ।

यस विभागमा मैले विकासका काम देखाउन सक्ने होइन। हिजोको भन्दा भिन्न चुनौती मेरा सामु छ। यस परिप्रेक्षमा विभागको सेवा प्रवाहमा सुधारका उपायहरुबारे मलाई मेसेन्जरमा वा अन्य सञ्चारका माध्यमबाट यहाँहरु सबैले सुझाव दिनुहुनेछ।

सञ्चारकर्मी मित्रहरु! यहाँहरुको साथ र सहयोग मेरा लागि सधै झै निकै महत्वपूर्ण हुनेछ। वैदेशिक रोजगार व्यवसायी मित्रहरु! यहाँहरुको पेशागत मर्यादा र संस्थागत छवि सुधार गर्नका लागि यहाँहरुले विगतका गल्ती नदोहोराउनु होला। वैदेशिक रोजगारलाई मर्यादित पेशा र वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न हातेमालौ गरौं। अन्त्यमा मेरो नयाँ जिम्मेवारी सफलतापूर्वक पुरा गर्न सकूँ। यहाँहरु सबैको साथ र आशिर्वाद मिलोस्।

प्रकाशित मिति : April 11, 2019 at 8:54 am