एनसेल बम आक्रमणको जिम्मा लिएका वलीलाई थुनामा राख्न सर्वोच्चले बाटाे खाेलिदियाे
२७ चैत, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्न सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ ।
छोरी विपनाले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणकाे रिट बुधबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरिदिएपछि सरकारले वलीलाई थुनामा नै राखेर घटनाको अनुसन्धान गर्न पाउने भएको छ ।

सञ्चार माध्यममार्फत नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको जिम्मा लिएका वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा हाजिर गराउन आदेश दिएको थियो ।
प्रहरीले विप्लव समूहका मध्य कमाण्ड इन्चार्ज वलीलाई पक्राउ गरी संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : 18:40









