८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

डाक्टरहरूको आन्दोलन औचित्यहिन, ‘रडाको’ जारी राखे कारबाही हुन्छः मन्त्री पण्डित

२६ चैत, काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले डाक्टहरूको आन्दोलन औचित्यहिन रहेको बताएका छन । उनले डाक्टरहरूले ‘रडाको’ जारी राखे कारबाही हुने चेतावनी समेत दिए । सरकारले धेरै कुर्न नसक्ने भन्दै मन्त्री पण्डित अराजकता प्रदर्शन नगर्न अनुरोध गरे । उनले भने ‘डाक्टरसाबहरुले आन्दोलन गर्नुको कुनै औचित्य छैन । उहाँहरुको कुनै माग जायज छैन । उहाँहरुका कत्तिपय मागहरु संविधानसँग बाझिएको, संविधानभित्र अट्नेगरी नभएको र कतिपय कुराहरु उहाँहरुसँग पटक–पटक बसेर प्रष्ट भैसकेपछि पनि ‘रडाको’ को रुपमा लिने र सेवा बन्द गर्ने कुरा अपराधपूर्ण छ । संसारका कुनै देशका डाक्टरहरुले यसरी आन्दोलन गरेको रेकर्ड छैन ।’

मन्त्री पण्डितले अति आवश्यकीय र संवेदनशील क्षेत्रमा बन्द गर्न नपाइने प्रावधान रहेको कुरा डाक्टरहरूलाइ स्मरण गराए । उनले डाक्टरहरूको यो कदम निजी क्षेत्रका क्लिनिकहरुलाई प्रोत्साहित गर्ने खालको रहेको बताए । उनले अब पनि डाक्टरहरू काममा फर्किएन भने कारबाहीमा पर्ने बताए । उनले भने ‘कत्तिपय भ्रमपूर्ण प्रचार गर्नुभएको छ । संविधान, संविधान अनुसार संघीयता र संघीयता अनुसार स्वास्थ्य क्षेत्रलाई तीन तहमा विभक्त गरिसकेको कारणले डाक्टरहरुले आफ्नो कुरा मात्रै बुझ्ने, देशको संविधान र ऐन कानुनलाई नबुझ्ने, आफ्नो कर्तव्य बिर्सने र सरकारी सेवामा आउँदा खाएको सपथ पनि बिर्सिएर अस्पताल बन्द गरिएको छ । यो कदम गलत छ । यसैमा अल्झिराख्ने हो भने सरकारले कडा कारबाही गर्छ ।’

प्रकाशित मिति : 21:28