११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

कृषिलाई पन्ध्रौँ योजनामा प्राथमिकता: अध्यक्ष दाहाल

–पूर्णप्रसाद मिश्र

२० चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले १५ औँ योजनामा कृषिमा आधारित उद्योग स्थापना गरेर उत्पादकत्व वृद्धि गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

पन्ध्रौँ योजनाको मस्यौदा आधार पत्रलाई अन्तिम रुप दिन आज आयोजित राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटनमा उहाँले सैद्धान्तिक शिक्षालाई कम गर्दै व्यावहारिक, व्यावसायिक र प्राविधिक शिक्षा दिने गरी नीतिगत व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

“परिवर्तनको महत्वलाई आत्मसात गर्ने गरी योजना बनाइनुपर्छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने गरी पन्ध्रौँ योजना बन्नुपर्छ, परिवर्तनको नियति विगतको जस्तो नहुने गरी योजना बनाइनुपर्छ, परिवर्तनलाई दिगो बनाउन राष्ट्रिय योजना आयोगको महत्वपूर्ण भूमिका हुन्छ”, नेता दाहालले भन्नुभयो ।

वर्ग विभेद घटाउने, समतामूलक सामाजिक न्याय स्थापित गर्ने खालका योजना बनाउन उहाँले आयोगलाई सुझाव दिनुभयो । दुई तिहाई बहुमतको अवसर सदुपयोग हुनेगरी जनतामाझ गरिएका प्रतिबद्धता पूरा गर्न १५ औँ योजनाको भूमिका हुने पूर्वप्रधानमन्त्री दाहालले बताउनुभयो ।

समृद्ध नेपालको नारालाई कामले पूरा गरी जनतामा निराशा आउन दिनु नहुने उहाँको भनाइ छ । त्यसो गर्न नसक्दाको अवस्था भयावह हुने भएकाले सचेत भएर काम गर्न पनि नेता दाहालले आह्वान गर्नुभयो ।

प्रकाशित मिति : April 3, 2019 at 6:00 pm