३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

सहकारी अभियानलाई विभिन्न क्षेत्रबाट योगदान दिने सहकारीकर्मी, संस्था तथा पत्रकार पुरस्कृत

१९ चैत, काठमाडाैँ । ६२ औं सहकारी दिवसकाे अवसरमा सहकारी अभियानलाई विभिन्न क्षेत्रबाट योगदान दिने विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको छ । मन्त्रालयले सहकारी अभियान नेपालमा स्थापना भएदेखि हालसम्म विभिन्न ढंगलाई अभियानलाई योगदान दिएको भन्दै उनीहरूलाई नगद तथा सम्मानपत्रले पुरस्कृत गरेको छ ।

जसअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी अभियन्तातर्फ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल, महासंघकै पूर्व अध्यक्ष दिपकप्रसाद बास्कोटा र नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेमप्रसाद पाठकलाई नगद एक लाख ५० हजार रूपैयाँसहित पुरस्कृत गरेको हो ।

     

यसैगरी त्यस अवसरमा सहकारी संस्थातर्फ सातै प्रदेशका एक/एक वटा उत्कृष्ट सहकारीलाई नगद २ लाख रूपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेको छ । जसअनुसार प्रदेश नम्बर १ बाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकरभित्ता झापा, प्रदेश नम्बर २ बाट साना किसान कृषि सहकारी संस्था धनुषा रघुनाथपुर, प्रदेश नम्बर ३ बाट जन सचेतन बचत तथा ऋण सहकारी संस्था लि. दोलखा, गण्डकी प्रदेशबाट जिल्ला दुग्ध उत्पादन सहकारी संघ बाग्लुङ, प्रदेश नम्बर ५ बाट सिको बचत तथा ऋण सहकारी संस्था लि. बर्दिया, कर्णाली प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लाटिकोइली सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट नवजीवन सहकारी संस्था लि. कैलाली पुरस्कृत भएका छन् ।

यसैगरी त्यस अवसरमा दुई जना पत्रकारलाई नगद ५० हजार रूपैयाँ र सम्मानपत्रले पुरस्कृत गरिएको छ । त्यस अवसरमा कारोबार दैनिकमा कार्यरत यादव हुमागाई र नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार मुना कुवरलाई पुरस्कृत गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत सबैलाई पुरस्कार बितरण गर्नुभएको हो ।

प्रकाशित मिति : 22:48