पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतले घटाउछौ: मन्त्री अर्याल
१९ चैत, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अहिले भएका सहकारी संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताउनुभएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै मन्त्री अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताउनुभएको हो । ‘अब पाँच वर्षमा अहिलेका सहकारीको संख्उ ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडी बढेको छ’, उहाँले भन्नुभयो ।
मन्त्रालयले सहकारीको मर्जर अभियान नियमावलीमा उल्लेख गरेर थालनी गरेको भन्दै सहकारीहरू मर्जर नभएमा सञ्चालन हुन नसक्ने बताउनुभयो । सहकारी अब अझ बढी गाउँकेन्द्रित हुनुपर्ने भन्दै उहाँले सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने बताउनुभएको हो ।
अब सहकारीलाई व्यवसायिक बनाउनुपर्ने अभियानमा मन्त्रालय लागेको भन्दै उहाँले सहकारी संस्थाको संख्या धेरै हुँदा गुणस्तरियतामा कमी आएको समेत बताउनुभयो । केही २/४ संस्थाबाट भएको बदामीका कारण सहकारीमाथि प्रश्नचिह्न खडा भएको बताउदै मन्त्री अर्यालले अब सहकारीलाई यस्ता कुराबाट टाढा राखेर समृद्धिको अभियानसँग जोड्नुपर्ने बताउनुभयो । ‘एक सहकारी एक गाउँ भनेर सहकारीलाई समृद्धिको अभियानसँग जोड्नुपर्छ ।’, उहाँले भन्नुभयो ।

मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै उहाँले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने बताउनुभयो ।
सहकारीलाई उद्योगको लगेर गरिबी न्यूनीकरणका निम्ती प्रमुख कार्य गरिने भन्दै उहाँले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका पालिकाहरूमा गरिब लक्षित कार्यक्रम सञ्चालन गरिने समेत बताउनुभयो । एउटा पालिका एउटा सहकारीले जिम्मा लिनेगरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आभार भनेको सहकारी नै भएको बताउनुभयो ।

प्रकाशित मिति : 22:33









