३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रधानमन्त्री ओली बीरगञ्जमा उपचार हुन नसकेका २ घाइते लिएर काठमाडौँ फर्किए

१८ चैत, काठमाडौँ, बारा र पर्साको हावाहुरी र आँधी प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेका दुई घाइतेलाई आफूसँगै काठमाडौँ ल्याएका छन् ।

आइतवार साँझदेखि आएको आँधीले बारा र पर्सामा ठुलो जनधनको क्षती पुगेपछि गृहजिल्ला झापाको सवै कार्यक्रम स्थगित गरी सिधै बारा र पर्सा पुग्नुभएका प्रधानमन्त्री ओलीले दुई जना घाइतेलाई उपचारका लागि आफ्नो साथमा लिएर आउनु भएको हो ।

प्रधानमन्त्री ओलीले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट आफूसँगै त्यहाँ पुगेको सेनाको हेलिकप्टरमा राखेर घाइतेहरूलाई काठमाडौँ ल्याएका हुन् । प्रधानमन्त्री ओलीले काठमाडौँ ल्याएका दुवै घाइतेको अहिले वीर अस्पताल उपचार भइरहेको छ ।

दिउँसो हावाहुरी प्रभावित ठाउँको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री ओलीले बारा र पर्साका तीन अस्पतालमा भर्ना भएका घाइते र उनीहरुका आफन्तलाई भेटेका थिए । बाराको कलैया अस्पताल र पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा पुगेर प्रधानमन्त्री ओलीले घाइते र घाइतेका आफन्त भेट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आँधीबाट अति प्रभावित फेटा गाउँपालिकाको हवाई निरीक्षण गर्नुभएको थियो भने लगत्तै अस्पताल गएर बिरामी र बिरामीका आफन्तलाई भेटेका थिए । प्रधानमन्त्री ओलीले अस्पताल प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति : 19:31