७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

प्रधानमन्त्री ओली बाराको आँधी प्रभावित क्षेत्रमा, घाइतेको स्वास्थ्यबारे विशेष चासो

१८ चैत, बारा । प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित क्षेत्रको निरीक्षणमा आउनुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आउनुभएको हो । प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आउनुभएको हो । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : 15:49