प्रधानमन्त्री शक्तिशाली हुन खोजेको होइन जनतालाई शक्तिशाली बनाउन खोजेको होः ओली
१७ चैत, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै शक्ति एकिकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र दमकमा आयोजित एक नं प्रदेश स्तरीय साहित्यिक प्राज्ञिक गोष्ठिको आज उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।“कतिपयले प्रधानमन्त्रीले शक्ति आफूमा केन्द्रित गर्न खोज्यो भन्छन् तर त्यो होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले प्रधानमन्त्री शक्तिशाली हुन खोजेको नभइ जनतालाई शक्तिशाली बनाउन खोजिएको हो ।
एकथरी मान्छेले यतिकै हल्ला चलाएका छन् ।” प्रधानमन्त्री ओलीले विप्लव समुहलाई हतियार सरकारलाई बुझाउन चेतावनी दिनुभएको छ । अहिले नै हतियार सरकारलाई बुझाउदा कहाँबाट कसरी ल्याइयो भनेर सोधीखोजी नगरिने समेत स्पष्ट पार्नुभएको छ । “विप्लव समुहले अहिले नै हतियार बुझाएमा कहाँबाट ल्याएको भनेर सोधीखोजी नगरौंला । अटेर गरेर मान्छे मार्दै,चन्दा असुल्दै हिड्दा कानुन अनुसार नियन्त्रण गरिन्छ ।”

प्रधानमन्त्री ओलीले प्रदेश नं १ आदिकाल देखि नै साहित्यको उर्वर थलो भएको बताउनुभएको छ । यहाँको साहित्यको श्रीवृद्धिका लागि संस्थागत प्रयास अघि बढाउन सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : 22:15









