शान्ति सेनामा खटिने नेपाली सुरक्षाकर्मीको सुरक्षा र सम्मानप्रति उपप्रधानमन्त्री पोखरेलको चासो
१५ चैत, काठमाडाैँ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले शान्ति सेनामा खटिने नेपाली सुरक्षाकर्मीको सुरक्षा र सम्मानप्रति संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेससँग चासो व्यक्त गरेका छन । अमेरिका भ्रमणमा रहेका पोखरेलले केही घण्टा अघि महासचिव गुटरेससँग भएको द्धिपक्षीय भेटवार्तामा शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति नेपालको तर्फबाट चासो प्रस्तुत गरेका हुन ।

उपप्रधानमन्त्री पोखरेलले विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघले खेल्दैआएको भूमिका,त्यसलाई थप सवल बनाउँदै लैजानुपर्ने आवश्यकता र यसमा नेपालको पूर्ण समर्थन रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन । उनले शान्ति स्थापनाका लागि नेपालले छ दशकदेखि खेल्दैआएको भूमिकाबारे पनि महासचिव गुटरेसलाइ स्मरण गराएका छन । उपप्रधानमन्त्री पोखरेलले शान्ति सेनामा महिला सहभागिता र नेपाली शान्ति सेनाहरूले राष्ट्र संघको मुख्यालय र शान्ति मिसनहरूमा समेत नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर प्राप्त हुनुपर्ने कुरा समेत महासचिवसमू राखेका छन ।

उनले नेपालले आफ्नै विशेषताका आधारमा शान्तिप्रकृया टुंग्याएको, नेपालको शासन प्रणालीमा आम नेपालीहरूको सहभागिता एवं समावेशिता सुनिश्चित गरेको र अब आर्थिक रूपान्तरणको अभियानमा जुटेको र यसमा संयुक्त राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको कुरा उल्लेख गरेका छन । भेटमा महासचिव गुटेरेसले नेपालले संयुक्त राष्ट्र संघको मिसनहरूमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा संयुक्त राष्ट्र संघले नेपाललाई सकारात्मक रूपमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति : 07:28









