७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

नेपाली युवाले जापानमा सिक्ने सीप र अनुभव नेपालको विकासमा प्रयोग हुने श्रममन्त्री विष्टको विश्वास

११ चैत, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली युवाले जापानमा सिक्ने सीप र अनुभव नेपालको विकासमा प्रयोग हुने विश्वास व्यक्त गरेका छन । सोमबार नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ हस्तारक्षरपछिको कार्यक्रममा मन्त्री विष्टले रोजगारीका क्रममा नेपाली युवाले जापानमा सिकेको सीप र अनुभव नेपालको विकासमा प्रयोग हुने विश्वास व्यक्त गरे ।

 सो अवसरमा श्रममन्त्री विष्टले नेपाली कामदार लैजानेसम्बन्धी समझदारीले नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुद र समृद्ध बनाउने विश्वास व्यक्त गर्दै समझदारीलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले नेपाली युवा कुनै झमेलामा नपरी आकर्षक गन्तव्य जान सकून् भन्ने उद्देश्यले दुई देशबीच समझदारी गरिएको बताए ।

सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने योजना अघि सारेको जानकारी दिँदै मन्त्री विष्टले जापानको श्रम बजारमा माग गर्ने दक्ष जनशक्ति उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित हुने बताए । नेपालका लागि जापानी राजदूत साइगोले यस समझदारीले नेपाली श्रमिकलाई जापानी नागरिक सरह सेवा सुविधा सुनिश्चित गर्ने बताए ।

मन्त्री विष्टको उपस्थितिमा सोमबार नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सो समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गरे । हस्तारक्षरसँगै नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउने मार्ग प्रशस्त भएको छ । सम्झाैता यही अप्रिल १ गतेदेखि लागू हुनेछ ।

यो पनि पढ्नुहोस्

–उच्चतहका श्रमिकले परिवारका सदस्यलाई समेत जापान लैजान सक्ने (समझदारीका विशेषतासहित)

–श्रममन्त्री विष्टकाे उपस्थितिमा नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर

–Nepal signs MoU with Japan on supply of workers

प्रकाशित मिति : 20:16