७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा आज हस्ताक्षर हुँदै

११ चैत, काठमाडौँ । नेपालको विकासको साझेदार जापान सरकारले नेपाली कामदार लैजाने विषयमा आज श्रम समझदारी हुने भएको छ । अप्रिल पहिलो सातादेखि नै कार्यान्वयनमा आउने गरी जापानसँग श्रम समझदारी हुन लागेको श्रम मन्त्रालय स्रोतले जनाएको छ ।समझदारीका बुँदाहरूको बारेमा बाहिर केही सार्वजनिक नभए पनि १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको बुझिएको छ ।

आज ललितपुरको होटल हिमालयमा नेपाल र जापान सरकारबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर तथा पत्रकार सम्मेलनको कार्यक्रम तय भएको छ । सुरक्षित र भरपर्दो वैदेशिक रोजगारीमाम जोड दिँदै आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालीको बढीभन्दा बढी हित हुनेगरी समझदारी गरिने यसअघि नै बताएका थिए । यसैबीच रोजगारीका लागि जापान जान एन–४ तहको भाषा र सीप अनिवार्य हुने भएको छ ।

जापान सरकार र नेपाल सरकारका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण हुनुपर्ने विषयमा यसअघि नै सहमति जुटेको छ । एन–४ तहको भाषा केयर गिभरबाहेक अन्य काममा जानेको हकमा लागू हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ यद्यपि कामदार लैजाने प्रक्रियालगायत सबै विषयको टुंगो आजको श्रम सम्झौतासँगै हुनेछ ।

आगामी अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि प्राविधिक तयारी गर्न केही समय लाग्ने देखिन्छ । जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ क्षेत्र तोकेको छ। विगतमा जापानामा जिट्कोमार्फत प्रशिक्षार्थी कामदार जाने गर्थे। जिट्कोमार्फत जापान गएका कामदारसँग रोजगारदाता सन्तुष्ट हुन नसकेपछि केही समययता त्यसरी कामदार पठाउने प्रक्रिया रोकिएको छ। विद्यार्थी बनेर जापान जाँदा ठूलो लागत लाग्ने भएकाले नेपालले लामो समयदेखि जापानको रोजगारी खुलाउने प्रयास गर्दै आइरहेको थियो।

प्रकाशित मिति : 08:43