४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

पाँच तस्बीरमा हेर्नुहोस् नेकपाकी सचेतक शान्ता चाैधरीको एसइइ परीक्षाको पहिलो दिन

१० चैत, काठमाडाैँ । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै हुनुहुन्छ । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सक्नुभएन । अनि खुला विद्यालयमा भर्ना हुनुभयो ।


उहाँ यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै हुनुहुन्छ । “यसपालि त म छोरीसँग परीक्षा दिँदैछु ।” उहाँले हाँस्दै भन्नुभयो, “ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ ।” उहाँले छोरीसँग प्रतिस्पर्धा गर्नुको अप्ठेरो सुनाउनुभयो ।

नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी९सिम्बोल नं ०५८८४५३ भी०को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । उहाँकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै हुनुहुन्छ ।नेकपा संसदीय दलका सचेतक चौधरीले भन्नुभयो, “व्यस्तताको कारण नियमित कक्षा जान पाइन, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ ।”

बाल्यकालदेखि विद्यालय त देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उहाँको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुग्नुभएका नेत्री चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो ।

प्रकाशित मिति : March 24, 2019 at 8:58 am