७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला

७ चैत चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाे बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।”

महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत सङ्ग्रह गर्न सकिने बताउँदै हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको धारणा व्यक्त गरे । नेपाली काङ्ग्रेसको अन्तिम बिन्दु धर्म स्वतन्त्रता नै रहेको बताए ।

सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको उल्लेख गर्दै उनले वार्ता र सम्वादमार्फत् समस्याको सामाधान खोज्नुपर्नेमा प्रतिबन्ध लगाउनु गलत भएको बताए ।

महामन्त्री कोइरालाले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै अहिलेसम्म प्रभावकारी योजना ल्याउन नसक्नु र कुनै नीति पनि कार्यान्वयन गर्न नसक्नु सरकारको असफलता भएको बताए । काङ्ग्रेस प्रतिपक्ष भए पनि सो अनुसारको भूमिका निर्वाह गर्न नसकेको चर्चागर्दै उनले काङ्ग्रेस पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको योगदानले देश यहाँसम्म आएको बताए ।

प्रकाशित मिति : 14:12