३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

होली खेल्ने क्रममा दुर्घटनामा परी २ जनाको मृत्यु, ३ घाइते 

७ चैत, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुई जनाकाे मृत्यु भएको छ । तीन घाइते भएका छन् । होली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा २ जनाकाे मृत्यु भएको हाे । घाइतेकाे अवस्था गम्भीर छ।

दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको हाे । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

होली मनाउने क्रममा बुधबार मात्र काठमाडौँ उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए । गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटनामा हुँदा १८ घाइते भएका थिए । ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ ।

तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए ।

प्रकाशित मिति : 10:37