अन्तर्राष्ट्रिय समुदायलाई नेपाल भ्रमण गर्न कृषिमन्त्री खनालको आग्रह
४ चैत, इपिन चीन । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सन् २०२० मा नेपालले मनाउन लागेको पर्यटन वर्ष सफल बनाउनका लागि नेपाल भ्रमण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । चीनको सिचुवान प्रान्तको इपिन शहरमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथि रहेका खनालले नेपाल पर्यटनको माध्यबाट अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुद बनाउन चाहेको बताए । ४० देशका झण्डै एक हजार प्रतिनिधि सहभागी सम्मेलनमा मन्त्री खनालले भने `हामी सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछौं । उक्त भ्रमण वर्षमा चिनियाँ तथा विश्वका अन्य राष्ट्रका पर्यटकको संख्या बृद्धि गर्दै हामी अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ बनाउन चाहन्छौँ ।´

मन्त्री खनालले नेपालमा आगामी मार्च २९ र ३० तारिखमा हुन लागेको लगानी सम्मेलनमा धेरै मित्र राष्ट्रहरुको सहभागिता र समन्वयको खाँचो महसुस गरेका बताए । उनले चीनले अगाडी सारेको एक क्षेत्र एक मार्गको अबधारण ऐतिहासिक रहेको भन्दै यसले व्यवसायिक र सांस्कृतिक हिसावले विश्वलाई जोड्न सफल हुने विश्वास नेपालले लिएको बताए ।
मन्त्री खनालले गुणस्तरीय चिया उत्पादन हुँदाहुँदै पनि विश्व बजारमा सन्तोषजनक उपस्थिति जनाउन नसकिरहेको सन्दर्भमा नेपालको चियालाई विश्व विजारमा पुर्याउन इपिनले उपलब्ध गराएको मञ्च नेपालको लागि ठूलो र अमूल्य अवसर रहेको बताए । मन्त्री खनालले भने `नेपालका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन, चीनका लागि महामहिम नेपाली राजदूत लगाएत विशिष्ठ महानुभावले गर्नुभएको इपिनको भ्रमण तथा इपिनका उपमेयर चांग फिंगको नेपाल भ्रमणले दुई देशबीचको सम्बधले छोटो समयमा नयाँ उचाई लिएको छ । इपिन र पोखरा महानगरपालिकाबीच स्थापित भगिनीसम्बन्धले नेपाली र चिनियाँ जनतालाई अझ आत्मीय र नजिक बनाएको छ ।´


उनले छिमेकी राष्ट्रहरु चीन र भारतको बीचमा रहेको नेपालले, बिकास र समृद्धिका दृष्टिले यी दुई मुलुकको सद्भाव र त्रिदेशीय सहकार्यको अधिकतम सदुपयोग गर्न चहेको बताए । मन्त्री खनालले हाल नेपालमा २८ हजार २ सय ४१ हेक्टर क्षेत्रफलमा चिया रोपण भएको र चीनमा निर्मित मेसिनहरूको प्रयोग गरी चिया उत्पादन गर्ने एक सयभन्दा बढी साना चिया कारखानाहरू हाल सञ्चालनमा रहेकाे जानकारी दिए । उनले गत आर्थिक वर्षमा नेपालमा कुल २४ बिलियन किलो चिया उत्पादन भएकोमा शुन्य दशमलब एक पाँच मिलियन डलर बराबरको ५१ हजार २ सय ६७ केजी चिया चीनमा निर्यात भएको बताए ।





प्रकाशित मिति : 20:09







