१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

सुनचाँदी ब्यवसाय मर्यादित भएनः अध्यक्ष शाक्य

३ चैत, काठमाडौँ । नेपाल सुनचाँदी ब्यवसायी संघ काठमाडौँको पुर्ननिर्मित भवनको शनिबार उद्घाटन भएको छ । २०७२ साल बैशाख १२ गते गएको विध्वंशकारी भूकम्पबाट क्षतीग्रस्त बनेको संघको भवनको पुनःनिर्माण गरेर उद्घाटन गरिएको हो।

काठमाडौंको क्षेत्रपाटीमा रहेको भवनको एक समारोहका बीच वाङमय शताब्दी पुरूष डा सत्यमोहन जोशीले उद्घाटन गरेका हुन्। जोशीले भवनको उद्घाटन गर्दै सुनचाँदी व्यवसाय व्यवसाय मात्र नभएर आम नेपालीको मौलिक शिल्प र कलाको पहिचान बोकेको क्षेत्र भएको बताए।

संघका अध्यक्ष महेन्द्र शाक्यले भवन संघमा आवद्ध संस्थापक, सल्लाहकार, कार्यसमिति र विभिन्न दाताहरुको सहयोगबाट पुनःनिर्माण भएको बताए। औद्योगिक व्यवसाय ऐन नहुँदा व्यवसाय गर्न गाह्रो भएको उनको गुनासो थियो । शाक्यले यो देशको अग्रणी र महत्वपूर्ण व्यवसाय भएपनि राज्यको लापरवाहीका कारण बदनाम बन्न पुगेको गुनासो पोखे ।

अध्यक्ष शाक्यले व्यवस्थापिका संसदमा विचाराधिन अवस्थामा रहेको औद्योगिक व्यवसाय ऐनलाई यथासिघ्र कानुन बनाएर त्यस अन्तर्गत सुनचाँदी र हिराजवारत उद्योगले विशेष ग्राह्यतामा प्रमुख निर्यातजन्य वस्तुहरुको सहुलियत पाउने वातावरण वनाउन सरकारसँग आग्रह गरे।

यस व्यवसायबाट वार्षिक राजश्व, कर, सेवा शुल्क र अन्य शुल्क गरी करिब ८ अर्ब राजश्वको रुपमा संकलन हुने र वार्षिक एक खर्बको कारोबार हुने गरेको भए पनि राज्यले व्यवस्थित गर्न कानुन निर्माण गर्न नसकेको भन्दै अध्यक्ष शाक्यले गुनासो गरे।

निर्यात सम्बन्धी कुनै नीति, नियम र सुविधा उपलब्ध नहुँदा विदेशमा रहेका नेपालीले गरगहना आफन्तहरुमार्फत ओसार पसार गरिरहेका र स्पस्ट कानुन नहुँदा मर्यादित व्यवसाय पनि बेलाबखत बदनाम हुनुपरेको उनले गुनासो गरे।

विभिन्न दूषित मनसाय भएका व्यक्तिहरुको प्रवेशले व्यवसायकै मानमर्दन र बदनाम भएकोले २०७० साल जेठ २९ गतेदेखि करिब ११ दिन आन्दोलन गर्नुपरेको स्मरर्ण अध्यक्ष शाक्यले गरे। उनले पेशालाई मर्यादित बनाउन गरिएको आन्दोलन त्यसबेला बाणिज्य विभागले मन्त्रीकै रोहबरमा १५ दिनभित्र मापदण्ड नियमावली प्रकाशन गर्ने सम्झौता गरेको भए पनि अझै सुनचाँदी बजारको मापदण्ड र कारोबार निर्देशिका जारी हुन नसकेको गुनासो गरे।]

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार २०:०२