१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

नेपालको चिया उद्योगको बिकास र प्रवर्द्धनको लागि चीन सरकारले सहयोग गर्ने

३ चैत, काठमाडाैँ ।  चीन सरकारले नेपालको चिया उद्योगको बिकास र प्रवर्द्धनको लागि जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीन भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल नेतृत्वको प्रतिनिधि मन्डल र सिचुवान प्रान्तको इबिन नगरका उपमेयर चाङ पिङ नेतृत्वको टोलिबीच भएको भेटमा चिनियाँ टोलिले यस्तो प्रतिबद्धता जनाएको हो ।

चीनले नेपालसँग मिलेर संयुक्त रुपमा चियाको बिकास र बिस्तार गर्न पनि तयार रहेको बताएको छ । गतवर्ष नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमणको क्रममा पनि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै चिया उद्योगको बिकास गर्ने समझदारी भएको उपमेयर पिङले स्मरण गरे ।

चीनले चियाको लागि प्रोसेसिङ प्लान्ट बिस्तार र प्रविधि सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । जवाफमा मन्त्री खनालले चीनसङको पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउदै बहुआयामिक बनाउनु पर्ने बताए । उनले नेपालले चिया तथा कफीमा राम्रो सुरुवात गरेको भए पनि अझै उत्कृष्ट बन्न नसेको अबस्थामा नेपाल सरकारले निर्यात गर्ने कृषि उपजको रुपमा राखेकोले चिया र कफिलाइ उच्च प्राथमिकता राखेको बताए।

त्यसको लागि चीन सरकारको सहयोग चाहिने उनको भनाइ छ । खनालले गत वर्ष ५१ हजार किलो चिया चीन निर्यात गरेको जानकारी दिँदै अझै गुणस्तरीय चिया निर्यात गर्न चाहेको बताए । भेटमा मन्त्रालयको तर्फबाट मन्त्री खनालसहित सहसचिव हरिबहादुर के सी र मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीको सहभागिता रहेको थियो ।

सिचुवानको इबिनमा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मन्त्री खनाल नेतृत्वको टोली हिजो शनिबार चीन गएको हो । सम्मेलनमा विश्वका ४० रास्ट्रका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । गतवर्ष उपराष्ट्रपति पुन प्रमुख अतिथिको रूपमा त्यहा गएका थिए । चियाको हब मानिने इबिनले तीन वर्षदेखि नियमित अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्दै आएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १७:१६