तनहुँको छरछरे झरनामा क्यानोनिङको सफल परीक्षण
२ चैत, दमौली । तनहुँको देवघाट गाउँपालिकाको वडा नं १ र २ को सिमानामा पर्ने छरछरे झरनामा क्यानोनिङ खेलको सफल परीक्षण गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार र शनिबार आयोजित प्रथम छरछरे महोत्सवका क्रममा क्यानोनिङ खेलको सफल परीक्षण गरिएको हो ।
देवघाटदेखि मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको छरछरेमा करीब २०० मिटर माथिबाट झरेको झरनामा पोखराबाट आएका दुई जना खेलाडीले क्यानोनिङको परीक्षण गरेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको उक्त स्थानमा अब क्यानोनिङका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल गरिने थापाले बताउनुभयो । उनले भने, “क्यानोनिङको सफल परीक्षण भएसँगै यसको प्रचारप्रसार र प्रवद्र्धनमा जोड दिन्छौँ ।”
क्यानोनिङ खेलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आज स्थलगत अवलोकनसमेत गरेका छन् । सो अवसरमा मन्त्री गुरुङले यस्ता साहसिक खेलमार्फत यस क्षेत्रको प्रचारप्रसार गर्नसकेमा वर्षमा हजारौँ पर्यटक भित्र्याउन सकिने मन्त्री गुरुङको भनाइ थियो ।
देवघाट गाउँपालिका वडा नं १ का अध्यक्ष भीमबहादुर गुरुङले भौगोलिकरुपमा विकट भएका कारणले उक्त झरनाको अहिलेसम्म पर्याप्त प्रचारप्रसार हुन नसकेको बताउनुभयो । छरछरे झरना कोटा भतेरी हुँदै पुग्न सकिन्छ । हिउँद र वर्षा दुवै समयमा झरनामा पानी हुने गरेको छ ।
प्रकाशित मिति : 20:35







