हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राप्रपाले गर्याे आन्दोलनकाे घोषणा, यस्ता छन् कार्यक्रम
२ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्य समितिको बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
पहिलो चरणको आन्दोलन चैत १५ गतेबाट सुरु हुने र वैशाख ८ गते सकिने राप्रपाले जनाएकाे छ । चैत १६ गतेसम्म प्रचारप्रसार, १७ गतेदेखि २३ गतेसम्म देशब्यापी हस्ताक्षर संकलन अभियान राखिएको छ ।

चैत २५ गते सिंहदरवार अगाडी, प्रदेश राजधानीमा र जिल्ला सदरमुकाममा १ घण्टे धर्ना कार्यक्रम राखिएको छ । चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, वैशाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको ब्यानर/प्लेकार्ड जलाउने र वैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहको कार्यक्रम राखेको छ ।
पहिलो चरणको संघर्ष सकिए लगत्तै संघर्षको उचाई र सशक्तता बढाउँदै दोस्रो र तेस्रो चरणको कार्यक्रम तयार गरिने राप्रपाले जनाएको छ । यसैबीच मागहरु पुरा गर्नेबारे सरकार सकारत्मक रुपमा प्रस्तुत भए सरकारसँग वार्ताको ढोका सदैव खुला राखिने राप्रपाले बताएको छ ।
प्रकाशित मिति : 19:10







