भारतीय अवैध १२ लाख मूल्य बराबरको ८० खसीबोकासहित तीन पक्राउ
३० फागुन, नेपालगञ्ज । भारतबाट अवैधरूपमा नेपाल भित्र्याएको खसीबोकासहित तीन जनालाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उपमहानगरपालिका–१३ स्थित रामबागबाट रु १२ लाख मूल्य बराबरको ८० खसीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा नेपालगञ्ज–१६ जयसपुर बस्ने फहिम कुरेसी, जाकिर कुरेसी र रहिस कुरेसी रहेका छन् । “भारतबाट भन्सार छली अवैधरूपमा खसीको चोरी पैठारी गरेको सूचनाको आधारमा खटिएको टोलीले ट्रकमा लोड गरेको अवस्थामा खसी नियन्त्रणमा लिएको हो” वडा प्रहरी प्रमुख डाँगीले भन्नुभयो, “यति ठूलो मात्रामा खसी पक्राउ परेको यो पहिलो पटक हो । खसीबोकासहित पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : March 14, 2019 at 10:58 am









