३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

धुर्मुस सुन्तलीकाे रंगशाला निर्माण कार्यमा १० करोड बिनियोजन गर्न महानगर तयार छ : रेनु दाहाल

२९ फागुन, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मिलेको खण्डमा भरतपुर महानगरबाट रंगशालाको लागि वार्षिक १० करोड बिनियोजन गर्न आफू तयार भएको समेत बताएकी छिन् । भरतपुर महानगरपालिकाले आज निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले सम्झौता भएको मितिले एक महिना कटेर आएको र यो अवधिमा सोचेको भन्दा बढी काम भएको बताइन् ।

प्रमुख दाहालले एक महिनामा सोचेको भन्दा बढी काम भएकोले धुर्मुस सुन्तली फाउन्डेसनले डीपीआर भएको मितिले दुई वर्षभित्रमा रंगशाला सक्ने जनाएको बताएकी छिन् । कार्यक्रममा प्रमुख दाहालले सामाजिक सञ्जालमा फैलिएका केही तीता टीकाटिप्पणीप्रति चिन्ता जाहेर गरेकी थिइन् ।

कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले आफूहरुलाई इमानले यहाँसम्म ल्याएको बताए । उनले भने, ‘अबको ५ महिनाभित्र गुरुयोजना तयार हुन्छ, हामीले विश्वको रंगशालाको अध्ययन गरिरहेका छौँ ।’

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, गीता वाग्ले, कृष्णप्रसाद भुर्तेल, रिना गुरुङलगायतले रंगशालाको लागि प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले रंगशाला निर्माणमा रकम संकलन गर्ने उपायहरु सुझाएका थिए ।

प्रकाशित मिति : 19:31