धार्के–भीमढुङ्गा–सीतापाइला बैकल्पिक राजमार्गलाई प्राथमिकता दिन स्थानीयको माग
२९ फागुन, काठमाडाैँ । सरकार नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको तयारीमा छ । नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले जानकारी दिए । प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिने उनले बताए । आर्थिक प्रस्तावको सबै प्रक्रिया पूरा गरी वैशाख अन्तिम सातादेखि नै निर्माण व्यवसायी काममा परिचालन गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ ।
प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणका लागि रु २२ अर्ब लाग्ने लागत अनुमान गरिएको छ । साढे पाँच अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको वडा नं. १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण शुरु भएको छ । हालसम्म रु दुई अर्ब ४० करोड मुआब्जा वितरण भइसकेको जनाइएको छ ।

जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा दुई वर्ष अघिदेखि सुरुङ मार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । सुरुङ मार्गका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्नेछ । रु छ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने आयोजनाले छ । चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सरकारले ४ वर्षको लक्ष्य राखेपनि न्युनतम ७ वर्षमापनि सुरुङमार्ग प्रयोगमा आउन नसक्ने जानकारहरुको दावी छ ।
तर सरकारले महत्व दिएर धार्के भीमढुङ्गा सीतापाइला बैकल्पिक राजमार्ग बनाउने हो भने सधैं त्रिभुवन राजपथमा हुने ट्रफिक जामको यात्राबाट १ वर्ष भित्रै छुटकारा मिल्ने छ । हो त्यही भएर राजधानी प्रवेशको लागि बैकल्पिक मार्गको रुपमा रहेको धार्के सीतापाइला सडक नबन्ने हो की भन्ने चिन्ताले स्थानीय नागरिकलाई सताएको छ । मंगलबार स्थानीय जनप्रतिनिधि सहितको टोलीले संघीय सांसदसंगको परामर्स सहित सरकारको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षणमा स्थानीय नागरिकले भनेका छन् । पन्चायती ब्यबस्था छंदै शुरु भएर आजसम्म सप्पन्न नभएको राजधानी प्रवेश गर्ने बैकल्पिक राजमार्ग नाम दिइएको सितापाइला भिमढुङ्गा धार्के सडक साथै भिमडुङा लामिडांडा गल्छी सडक निर्माणमा ढिलाइ किन? स्थानीयको प्रश्न छ ।
अब बन्ने हो कि होइन उनीहरुको चिन्ता समेत छ ? स्थानीय नागरिकले कसले कहिले देखि बनाउने हो भन्ने जिज्ञासा लिएर धादिङ १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद भूमि त्रिपाठी मार्फत सरकारको ध्यानाकर्षण समेत गराएका हुन् । छलफलमा धुनिबेशी १ र २ का वडा अध्यक्षका साथ १, २ र ३ का सरोकारवाला स्थानीयको उपस्थिति रहेको थियो । स्थानीय नागरिकले राखेको जिज्ञासाको जवाफ दिंदै सांसद त्रिपाठीले सडक निर्माणका लागि उनी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कडेलले तिब्र पहल गरिरहेको जानकारी गराएका थिए ।

नयाँ व्यवस्था अनुसार ५० किलोमिटर तलका सडक प्रदेश सरकारको मातहत रहेपनि प्रेदेश सरकार संग आबश्यक जनशक्ति नभएको कारण यस्ता आयोजनाहरुलाई केन्द्र सरकारले नै ध्यान दिन प्रधानमन्त्रीको निर्देशन भएपछि संघीय सरकार बाटै बजेट ब्यबस्था गरि यो सडक निर्माण गर्ने तयारी भएको जानकारी समेत सांसद त्रिपाठीले गराए । उनले संसदमा आफ्नो भनाइ राखेरै यो सडक निर्माण गर्न माग गरेपछि अर्थमन्त्री र भौतिक योजना मन्त्रीले चासो देखाइ तत्काल बजेट ब्यबस्था गरेर निर्माण कार्य अघि बढाउन लागि परेको दावी समेत गरेका थिए । राष्ट्रिय महत्व बोकेको सडकलाई बेवारिसे बन्न नदिने प्रतिवद्धता समेत सांसद त्रिपाठीको रहेको थियो ।
प्रकाशित मिति : 08:21









