७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

सामाजिक सुरक्षा योजनामा शंका होइन सहयोग गर्नुसः मन्त्री विष्ट

२८ फागुन, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सम्झौताका रुपमा सामाजिक सुरक्षा योजना ल्याइएको स्पष्ट पारेका छन । मंगलबार सामाजिक सुरक्षा कोषले गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री विष्टले सामाजिक सुरक्षा योजनामा शंका गर्ने भन्दा पनि अहिले सहयोग गर्ने समय रहेको बताए ।

उनले सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि सहयोग गर्न सरोकारवाला सबैमा अाग्रह गरे । मन्त्री विष्टले योजनालाई थप परिस्कृत गरेर लैजान सकिने बताउँदै भने, “कार्यान्वयनका क्रममा कुनै जटिलता आए बसेर छलफल गरौँ, कार्यान्वयन हुँदैन भनेर आशङ्का गर्नु आवश्यक छैन ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सामाजिक सुरक्षा योजनाका बारेमा थप स्पष्टताको आवश्यकता औँल्याउँदै सामाजिक सुरक्षा स्किमलाई अन्तर्राष्ट्रिय अभ्यास र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धिको आशयअनुरुप बनाइ योगादनकर्तालाई बीमा योजना र बचत योजनाबाट पाउने सुविधाका बारेमा स्पष्ट पार्नुपर्ने बताइन । उनले अनलाइन सूचीकरण प्रक्रियामा पनि प्रणालीगत समस्याका कारणले दर्ता गर्न समस्या देखिएकाले तत्काल सुधार गर्न पनि सुझाव दिइन ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सरकारको योगदान नभई सामाजिक सुरक्षा योजना चल्न नसक्ने जिकिर गर्दै आगामी बजेटमा सामाजिक सुरक्षाका क्षेत्रमा लगानी गर्न सुझाव दिए । उनले प्रतिष्ठान सूचीकरणका क्रममा देखिएको समस्या सामाधान गर्न आग्रह गर्दै ‘डाटा’ सुरक्षातर्फ सरकारको ध्यान जानुपर्ने बताए । उद्योगी व्यवसायीले सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भइसकेपछि सरकारले यसअघि उठाउँदै आएको १ प्रतिशत सामाजिक सुरक्षा कर लिइरहनु आवश्यक नहुने बताए ।

कानून व्यवसायी रमेश बडालले विदेशी श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याइनुपर्नेमा जोड दिँदै योगदान गर्ने विदेशी श्रमिकलाई स्वदेश फर्कदा एकमुष्ट भुक्तानी गर्न सकिने बताए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष विनोद श्रेष्ठले कार्यक्रमको कार्यान्व्यनका क्रममा देखिएको अस्पष्टता तत्काल संशोधन गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : 22:57