विप्लवका कार्यकर्ताले चन्दासँगै राजीनामा मागेर धम्क्याएपछि दैलेखका जनप्रतिनिधिले मागे सुरक्षा
२८ फागुन, दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चन्दासँगै राजीनामा मागेर धम्क्याएपछि दैलेखका जनप्रतिनिधिले सुरक्षाकाे माग गरेका छन् ।पत्रमार्फत सुरुमा जनप्रनिधिसँग चन्दा र राजीनामा मागेका विप्लवका कार्यकर्ताले टेलिफोनमार्फत दबाव बढाउन थालेपछि दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई भेटेरै सुरक्षा मागेका हुन् ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख शाहले दैलेखका स्थानीय सरकारका प्रमुख सुरक्षाको प्रत्याभूति खोज्दै आफूकहाँ आइपुगेको बताए ।‘दैलेखका जनप्रतिनिधिहरु सुरक्षा खतरा बढ्दो भन्दै आउनु भएको थियो,’ शाहले भने, ‘आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी लागिपरेकाले विश्वस्त हुन आग्रह गरेको छु ।’
देश समृद्धितर्फ अघि बढिरहेका बेला विप्लव समूहले विस्फोट तथा व्यक्ति हत्याजस्ता आपराधिक गतिविधि बढाएको उनले बताए ।संविधानले निषेध गरेका कार्य गर्ने राजनीतिक समूह नभएर अपाराधिक समूह भएको भन्दै प्रहरीले यस्ता गतिविधिको नियन्त्रण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रियाका लागि कडा कदम चाल्ने उनले स्पष्ट पारे ।
विप्लवका गतिविधि बढे पनि सबै मिलेर त्यसलाई निस्तेज पार्न सकिने उनको भनाइ थियो ।
प्रकाशित मिति : March 12, 2019 at 12:23 pm









