पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ: प्रधानमन्त्री ओली
२७ फागुन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे । ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएरनै निस्तेज पारेको हो’ प्रधानमन्त्री ओलीले भने ‘राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताउँदै यस बिषयमा कसैले चिन्ता नगर्न अाग्रह गरेका छन् ।’
प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए । प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने बताएका छन् । देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।
प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १५:०२












